कास्की ‘ट्राफिक सप्ताह’ मा हरेक दिन नयाँ विषयको जानकारी

कास्की ‘ट्राफिक सप्ताह’ मा हरेक दिन नयाँ विषयको जानकारी
सुन्नुहोस्

कास्कीमा सचेतनामूलक कार्यक्रमका साथ ‘ट्राफिक सप्ताह–२०८१’ मनाउन थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाको संयुक्त आयोजनामा ट्राफिक सप्ताह शुरु भएको बताइएको छ ।

हिजोदेखि थालिएको ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म सञ्चालन हुने छ । पहिलो दिन ‘तीव्र गतिमा जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी’ लेखिएको प्लेकार्ड बोकेर प्रभातफेरी कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आमा समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि गरेर झण्डै साढे दुई हजार जनाको सहभागिता थियो । आज स्वयंसेवक परिचालन गरेर प्रशिक्षण दिइने कार्यालयले जनाएको छ । 

त्यस्तै, सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गर्ने, चोक–चोकमा स्वयंसेवक खटाएर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाउने, अव्यवस्थित पार्किङ्ग हटाउने, मास्क वितरण गर्ने, माइकिङ गर्ने, स्टिकर टाँस गर्ने, जेब्राक्रस नभएको स्थानमा बाटो काट्न सिकाइने छ । 

तेस्रो दिन भोलि ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम, चौथो दिन सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, पाँचौं दिन चालक–परिचालक प्रशिक्षण कार्यक्रम, छैठौं दिन सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम र सातौं दिन सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ । 

सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सप्ताहको आयोजना गरिएको हो ।

टिप्पणीहरू