युद्धमा फसेका नेपालीको उद्धार गरियोस् : मानव अधिकार आयोग

युद्धमा फसेका नेपालीको उद्धार गरियोस् : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेन युद्धबाट प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । आयोग प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले युद्धमा फसेका नेपालीको उद्धारका सन्दर्भमा उनीहरुका आफन्त १७ दिनदेखि अनसनमा रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

काठमाडौंको रत्नपार्कमा जारी आमरण अनसनस्थलको आयोगले अनुगमन गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखिको आमरण अनसनका कारण अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको आयोगको अनुगमनका क्रममा बुझिएको छ ।’

यसअघि गत पुस १ गते पनि आयोगले रुसी सेनामा भर्ना भई जोखिम अवस्थामा रहेका व्यक्तिको उद्धार गर्न र गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको पनि आयोगले स्मरण गराएको छ । 

आयोगले नेपालीहरु जहाँ र जुनसुकै अवस्थामा रहेपनि उनीहरुको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने बताउँदै स्वदेश फर्कन चाहने नेपालीहरुलाई कुटनीतिक पहलद्वारा फर्कने व्यवस्था मिलाउन अनुरोध गरेको छ । 

त्यस्तै, युद्धमा परी मृत्यु भएकाहरुको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन र आमरण अनसनमा बसेका व्यक्तिहरुको जीवन रक्षा गर्न पनि आयोगको सरकारसँग आग्रह छ । 

रुस–युक्रेनबीच युद्ध चलिरहँदा रुसी सेनामा भर्ती भएका ३९ जना नेपालीले युक्रेनी सेनाको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् ।

टिप्पणीहरू