सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ । 

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका हुन् । उनले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल भैरहेको पनि जनाएका छन् । 

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । नयाँ दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा त्यसबारे सोधिएको प्रश्नमा जयशंकरले नेपालको निर्णयले धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरे। 

‘हामी सीमासम्बन्धी विषयमा संयन्त्रमा छलफल गरिरहेका थियौँ । त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले । त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन,’ उनले भनेका छन् ।

सीमा विवादबारे आफूहरु छलफल प्रक्रियामै रहेको बेला नेपालले हतारमा यो निर्णय लिएको जयशंकरको तर्क छ ।  

नेपालले २०७७ सालमा भारतीय अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गर्दा पनि भारतले असन्तुष्टि जनाएको थियो ।
https://twitter.com/i/status/1786757810312953886

टिप्पणीहरू