राजधानी नजिकै उड्न थाल्यो डाँफे

राजधानी नजिकै उड्न थाल्यो डाँफे
सुन्नुहोस्

राजधानीबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे उडेको देखिएको छ । तस्बिरमा देखिएको डाँफे जोडी दोलखाको डाँङडुँगे डाँडा भनिने लाकुँरीडाँडमा खिचिएको हो । 

काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिने स्थानमा डाँफे देखिएको छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा दोलखाको डाँङडुँगे डाँडा अवस्थित छ । 

समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा डाँफे पाइने सुनिएको थियो । तरपनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडाध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् ।

 डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्बिर पहिलो पटक खिचेको हो । सोही वडाका स्थानीय जीतबहादुर श्रेष्ठले यस भेगमा डाँफे, मुनाललगायतका चराहरु पाइने बताए । 

राजधानीबाट नजिकको दूरीमा उच्च हिमाली भेगमा पाइने डाँफे, मुनाललगायतका चरा हेर्न पाइने भएपनि जानकारीको अभावले यहाँ चरा पारखी साथीहरुको ध्यान पुग्न नसकेको उनको भनाइ छ ।

जीतबहादुर चलचित्र विकास बोर्डका सदस्य पनि हुन् । यसै ठाउँमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रमा बोर्डले फिल्म सिटी बनाउँदै छ ।यहाँबाट आँखैअगाडि गौरीशङ्कर, गणेशसहित आधा दर्जन हिमालहरु र एकै थलोमा अनेक थरीका गुराँस देख्न सकिन्छ ।

घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीर र नजिकको जङ्गलमा बस्न रुचाउँछ, डाँफे । लजालु स्वभावको यो चरा हिमपातका बखत होचो भू–भाग तथा लालीगुराँसको जङ्गलमा झर्छ । डाँफे नेपाललगायत पाकिस्तान, भारत, भुटान चीन र बर्माका हिमाली भेगमा पाइन्छ ।  

नेपालमा यो चरा तीन हजार तीन सय मिटरदेखि चार हजार सात सय ५० मिटर उचाईमा र हिउँदमा दुई हजार पाँच सय मिटरसम्म झर्छ । प्रायजसो हिमाली संरक्षित क्षेत्रहरू (मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्र) मा यो चरा देखिने गरेको छ ।

नेपालमा यसको संख्या ३५ सयदेखि पाँच हजारसम्म रहेको अनुमान गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित पन्छीमा सूचीकृत गरेको छ ।

टिप्पणीहरू