किर्गिस्तानमा जागिरको लोभ देखाएर ठगी, दूतावासले गरायो सचेत

किर्गिस्तानमा जागिरको लोभ देखाएर ठगी, दूतावासले गरायो सचेत
सुन्नुहोस्

रोजगारीका लागि किर्गिस्तान लैजाने नाममा ठगीका घटना बढेको भन्दै पाकिस्तानका लागि नेपाली दूतावासले सतर्क रहन आग्रह गरेको छ । 

आकर्षक रोजगारी दिलाइदिने भनी प्रलोभनमा पारेर किर्गिस्तान पुर्याएर नेपालीहरु अलपत्र पारेको व्यापक गुनासो आएको बताउँदै दूतावासले सतर्क गराएको हो । दूतावासका अनुसार त्यसरी पठाउने र अलपत्र पार्ने कार्यमा नेपालीसहित विदेशीको पनि संलग्नता रहेको पाइएको छ । 

अलपत्र परेका नेपालीमध्ये केहीलाई स्वदेश फिर्ता पठाइएको उल्लेख गर्दै दूतावासले अवैध बाटोबाट त्यता जाने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गरेको छ । 

‘नेपालीहरुलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरुमा केही नेपाली र केही विदेशीसमेत रहेको बुझिन आएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्नेजस्तो गैरकानुनी काममा संलग्न हुने व्यक्ति–समूहले प्रचलित कानुनको सामना गर्नु नै पर्ने हुन्छ’, जारी सूचनामा उल्लेख छ । 

किर्गिस्तानको बाटो प्रयोग गरी अन्य मुलुक पठाउने आश्वासन दिएर ठगी गरेको गुनासो पनि प्राप्त भएको दूतावासले जनाएको छ । त्यस्तै, दूतावासले गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जान सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोको मात्र प्रयोग गर्न सूचित गराएको छ । 

सोसम्बन्धी कुनै जानकारी चाहिएमा दूतावासको फोन वा ह्वाट्सएप नम्बर ००९२५१२६१०३१७ मा सम्पर्क गर्न भनिएको छ ।
 

टिप्पणीहरू