अमिरको स्वागतमा राष्ट्रपति विमानस्थल पुग्दै,रात्रिभोज सोल्टीमा,दिवाभोज द्वारिकाजमा

अमिरको स्वागतमा राष्ट्रपति विमानस्थल पुग्दै,रात्रिभोज सोल्टीमा,दिवाभोज द्वारिकाजमा

कतारका अमिर नेपालको दुई दिने राजकीय भ्रमणका लागि भाेलि अपरान्ह ४ बजेर ४० मीनेटको समयमा काठमाडौं आइपुग्दै छन् । बंगलादेशको राजधानी ढाकाबाट उनी विशेष विमानमा आउने बताइएको छ ।

अमिर सवार विशेष विमानसँगै अरु दुई वटा ठूला विमान पनि सोही समय काठमाडौंमा अवतरण गर्ने छ । विमानस्थलबाट अमिर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि सोझै राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने कार्यक्रम छ । 

त्यसपछि साँझ होटल सोल्टीमा राष्ट्रपतिले अमिर थानीको सम्मानमा रात्रिभोजको आयोजना गर्दै हुनुुहुन्छ । अमिर र उनको भ्रमण टोलीको बस्ने प्रबन्ध पनि सोल्टीमा नै मिलाइएको छ ।
पर्सि दिउँसो २ बजे स्वदेश प्रस्थान गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमिरको सम्मानमा दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ । दिवाभोज बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा राखिएको छ ।

भ्रमणको तयारीका लागि विभिन्न टोली काठमाडौं आउने क्रम आजसम्म पनि जारी छ । बेलुकी ७ बजे कल साइन क्युक्युइ ५७७ नम्बरको विमानमा पाँच जनाको टोली काठमाडौं विमानस्थलमा अवतरण गरेको बताइन्छ ।

अमिरको स्वागत र बिदाईका लागि राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय पुग्ने कार्यक्रम बनाइएको छ । कतारी अमिरको आगमन र प्रस्थान समयभन्दा १० मीनेटअघि र पछिसम्म काठमाडौं वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) घोषणा गरिएको छ ।

टिप्पणीहरू