उखरमाउलो गर्मीमा रोहिणीको बगरमा काँग्रेस सांसद, सकारात्मक सबैलाई खाममा नगद

उखरमाउलो गर्मीमा रोहिणीको बगरमा काँग्रेस सांसद, सकारात्मक सबैलाई खाममा नगद

स्थानीय बासिन्दाको सहमति बिना रुपन्देहीको रोहिणी नदीको बगरमा नेपाल आयल निगमले तेल भण्डारण केन्द्र बनाउन लागेपछि स्थानीय आन्दोलित भएका छन् । 

ओमसतिया गाउँपालिका ५ का ७५ घरधुरी र रोहिणी गाउँपालिका ३ का ११ घरधुरीका सयौं बासिन्दाले ३९ डिग्रीको तापक्रममा पनि आज दिउँसो रोहिणीको बगरमा प्रदर्शन गरेका हुन् । स्थानीय बस्ति नजिकै तेल भण्डारण केन्द्र राखिँदा आफूहरुको सहमति नलिएको आरोप लगाउँदै विरोधमा उत्रिएका हुन् ।

स्थानीयहरुसँगै रोहिणीको बगरमा भेटिएका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद अब्दुल रज्जाकले भने, ‘स्थानीयलाई विस्थापित गर्ने ढंगले निगमलेको पछिल्लो कार्य भत्र्सनायोग्य छ ।’

२०७४ सालमा सरकारले संघीय सांसद प्रकाश ज्वालाको संयोजकत्वमा गठन गरेको संसदीय छानबिन समितिका सदस्य समेत रहेका पूर्व राज्यमन्त्री रज्जाकले भने, ‘स्थानीयको सहमति बेगर कुनैपनि काम निगमले अगाडि बढाउन खोजे जनताले प्रतिकार गर्ने चेतावनी दिन चाहन्छु ।’
सयौं स्थानीयसँगै बगरमा पुगेका रज्जाकले निगमको जग्गा प्रकरणको छानबिन आयोगको प्रतिवेदन, अख्तियारको प्रतिवेदन, जिल्ला प्रशासन कार्यालयको तत्कालिन छानबिन समितिको प्रतिवेदन स्थानीयसमक्ष सार्वजनिक नगरेसम्म काम अगाडि बढाउन नदिने दाबी गरेका छन् । उनले भने, ‘मधेसी समुदायका सोझा साझा स्थानीयलाई झुक्काएर उनीहरुले सदियौंदेखि जोतभोग गरेको जग्गामा डोजर चलाइएको छ । निगमले जे गर्दैछ त्यो गलत छ । बगरमा ल्याएर पत्रकार र केही मान्छेलाई भोज खुवाउँदैमा, खाममा दाम हालेर दिँदैमा जे पायो त्यहि गर्न पाइन्छ भन्ने सोचेका होलान् । हामी गलत काम हुन कदापी दिँदैनौं ’

निगमको नाममा स्थानीय ठेकेदारहरुले रोहिणी नदीबाट बालुवा उत्खनन गर्न थालेका छन् । उनीहरुले जेसिबी प्रयोग गरेर सयौं ट्रिपर बालुवा र भस्कट निकालेको देख्न सकिन्छ । नदी किनारमा पर्खाल लगाउने बहानामा नदीजन्य पदार्थको अवैध उत्खनन् समेत हुन थालेको हो । 

रोहिणी क्षेत्रका सांसद समेत रहेका रज्जाकले जनताको सहमति बेगर कसैले कुनै काम गर्न खोज्नु दिवा सपना मात्रै भएको बताउँदै आएका छन् । केही दिनअघि आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नाममा रोहिणीको बगरमा ‘पेट्रोलियम भण्डारण गृह निर्माणको शिलन्यास निर्देशकको निर्णयानुसार छिट्टै गरिने’ लेखिएको ब्यानर टाँगेर कार्यक्रम गरिएको थियो । 


कार्यक्रममा काठमाण्डौंका ३० जना र रुपन्देहीका ४२ जना पत्रकार सहभागी थिए । ७२ जना पत्रकारहरुमध्ये केहीलाई १५ हजारका दरले, केहीलाई १० हजारका दरले र केहीलाई तीन हजारका दरले खाममा दाम हालेर दिइएको बताइएको छ  । स्थानीयलाई भने बगरमै भोज खुवाइएको थियो । 

सो विषयको चर्चा यतिबेला रोहिणी नदीको बगरको आसपासको गाउँ सिसनिया, पनौनी, बैकुण्ठपुर मात्रै होइन पूर्वको धकधई, पश्चिमको भैरहवा र उत्तरको बुटवलसम्म खुबै चर्चाको विषय बनेको छ । उक्त खर्चको हिसाब निगमले कसरी मिलाउला त्यसबारे धेरैले जिज्ञासा राखेका छन् ।

टिप्पणीहरू