जोगीहरूको लडाइँमा प्रधानमन्त्रीलाई जोखिम

जोगीहरूको लडाइँमा प्रधानमन्त्रीलाई जोखिम
सुन्नुहोस्

धर्मलाई अफिम मान्ने कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा धार्मिक कार्यक्रममा जाने कि नजाने भन्ने निर्णय लिन सुरक्षा निकायका प्रमुखहरूसँग सल्लाह गर्नुपर्ने अवस्था आइलागेको छ ।

जबर्जस्ती करणी मुद्दा लागेका सिद्धबाबाका नामले चिनिने स्वामी कृष्णदासले बैशाख ५ देखि ११ गतेसम्म सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा महायज्ञ लगाउन थालेका छन् । भारतबाट महाराज धीरेन्द्र शास्त्रीलाई बोलाएर धुमधामका साथ लगाउन लागेको महायज्ञमा प्रधानमन्त्रीलाई निम्तो दिइएको छ । पहिला त्यही ठाउँमा गएर भैंसीपूजा गरेकोमा आलोचना खेपिरहेका प्रचण्डले चैत २९ गते विराटनगरमा सुरक्षा निकायका प्रमुखहरूलाई सोध्नुभयो– मलाई बोलाएका छन्, आउन हुन्छ कि हुँदैन ? 

प्रदेश र जिल्लाको सुरक्षा स्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रममा मोरङका सिडिओ प्रेम भट्टराईबाहेक सबैले कृष्णदास स्वयं विवादित रहेको र मुद्दा अदालतमा विचाराधीन भएकाले उनले आयोजना गरेको धार्मिक कार्यक्रममा प्रधानमन्त्री जान नहुने मौखिक सल्लाह दिए । नेपाल प्रहरीका एसएसपी राजन अधिकारी र सशस्त्रका डिआइजी अञ्जनी पोखरेलले कडिकडाउसँग ‘कुनै हालतमा जान हुँदैन हजुर !’ भनेका थिए । त्यसक्रममा कृष्णदासले भारतबाट ल्याउन लागेका महाराज धीरेन्द्र शास्त्रीले ‘नेपाललाई हिन्दुराष्ट्र घोषणा गरेर मात्र फर्कन्छु’ भनी गरेका भाषणको भिडियो मोबाइलबाट प्रधानमन्त्रीलाई देखाइएको थियो । 

त्यसो त, उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई उपस्थित गराएर कृष्णदासले ‘धार्मिक राजनीति’ गर्न खोजेको प्रदेश सुरक्षा निकायका प्रमुखहरूले विश्लेषण गरेका छन् । कृष्णदास र चतराधामका गुरु बालसन्त मोहन शरण देवाचार्यबीच लामो समयदेखि द्वन्द्व छ । बालसन्तले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट कुम्भमेलाको उद्धघाटन गराएका थिए । त्यसको काउण्टरमा कृष्णदासले प्रधानमन्त्रीलाई लैजान खोजेको र त्यसले भित्रभित्रै चर्काएको दुईपक्षीय विवादले झडपको रुप लिनसक्ने खतरा औंल्याइएको छ । 

सरकारी जमिनमा भव्य रिसोर्ट बनाएर बसेका कृष्णदासले भने महायज्ञका लागि ब्यापक तयारी गरेका छन् । टेन्टलगायतका सबै सामग्री भारतबाट ल्याएर कार्यक्रमस्थल झकिझकाउ पारिएको छ । एक लाख मानिस एकै ठाउँमा अट्ने गरी बन्दोबस्ती मिलाइएको छ । धीरेन्द्र शास्त्रीलाई भेट्न मात्रै धनाढ्य व्यापारीले दशौँ लाख तिरेर नाम टिपाइसकेका छन् । धर्मका नाममा लाखौंको आर्थिक चलखेल भइरहेकोतर्फ स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो पनि सुनिन्छ ।

यता, इलामको उपनिर्वाचनमा चार जना उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने सुरक्षा निकायको अनौपचारिक रिपोर्ट छ । त्यहाँको वस्तुगत अवस्थालाई सांंङ्गोपाङ्गो विश्लेषण गरिएको रिपोर्टमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादीहरूका तर्फबाट उठाइएका स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने बताइएको छ । 

पहिचानवादीका तर्फबाट साझा उम्मेदवार रहेका पूर्वएमाले डेकेन्द्रसिंह थेगिमले एमालेको र स्वतन्त्र पार्टीका मिलन लिम्बुले काँग्रेसको भोट काट्ने विश्लेषण सुरक्षा निकायले गरेको छ । ७० प्रतिशत राई, लिम्बु मतदाता रहेको सो क्षेत्रमा नपत्याउँदो गरी थेगिमको पक्षमा माहोल बन्दै गएकाले चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको हो । 

बढीमा दुई हजारसम्मको मतान्तरले हार–जितको टुंगो लाग्ने अवस्थामा किरातका धर्मगुरु आत्मानन्द लिङ्गदेन निर्णायक हुने देखिन्छ । तीनदेखि चार हजार मत प्रभाव पार्न सक्ने उनको समर्थन कसलाई हुन्छ खुलिसकेको छैन । ‘लक्जेरियस’ जीवन बिताइरहेका लिङ्गदेन अन्तिममा जताबाट कोशेली मिल्छ, उतै ढल्किनसक्ने एकथरीको अनुमानले पनि इलामको चुनावी भिडन्त सोचेभन्दा फरक हुनसक्ने विश्लेषण गरिएको छ । पहिले सुवास नेम्वाङले ३० हजार मतले जितेको इलाम–२ मा यसचोटी चारजना उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुँदा १७ देखि १८ हजार भोट ल्याएर जित्ने अनुमान गरिएको छ ।  

यसैबीच बैशाख ७ गते गृहमन्त्री रवि लामिछाने चुनावी भाषण गर्न इलाम जाँदैछन् भने त्यसअघि केपी ओली पुग्दैछन् । दुर्गा प्रसाईले गर्न लागेको ‘नो भोट र्‍याली’मा स्थानीयको उपस्थिति कस्तो रहन्छ भन्ने कुराले पनि चुनावी परिणामको पूर्वानुमान गर्न सकिने धेरैको बुझाई छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू