गृहमन्त्रीसमेत मुछिएपछि दिपेश पुनको बयान ‘अतिथिको माइन्युटमा हस्ताक्षर गरेको हुँ’

गृहमन्त्रीसमेत मुछिएपछि दिपेश पुनको बयान ‘अतिथिको माइन्युटमा हस्ताक्षर गरेको हुँ’
सुन्नुहोस्

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा हिजो मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले जीबी राई, ओमप्रसाद गुरुङ, दिपेश पुन, दुर्गा चापागाईं लगायत २८ जनालाई प्रतिवादी बनाएको छ ।

झण्डै आठ हजार बचतकर्ताको ९६ करोड रुपैयाँ हिनामिना गर्नेमध्ये हालसम्म छ जना मात्रै पक्राउ परेका छन् । तीमध्येका एक पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पनि हुन् । 

सहकारीको सचिव हुँदा उनले पेश्कीस्वरुप तीन लाख रूपैयाँ लिएको सरकारी वकिलको अभियोगपत्रमा उल्लेख छ । तर पक्राउ परेका पुनले आफूमाथि लागेका सम्पूर्ण आरोप सत्य नभएको बयान दिएका छन् । 

सहकारीका संरक्षक जीबी राईले आफूलाई थाहा नदिई सचिव बनाएको पुनको तर्क छ । सहकारीको साधारण सभामा कार्यक्रममा अतिथिको रुपमा मात्र गएको उनले बताए । 

‘संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो’, बयानमा भनेका छन्, ‘अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिएर रजिष्ट्ररमा हस्ताक्षार गरेकोसम्म मलाई याद छ, अन्य कुराहरू मलाई याद भएन ।’

पुनले त्यतिबेला आफूले सचिव पदमा नभएर सामान्य उपस्थितिको माइन्युटमा मात्रै हष्ताक्षर गरेको दाबी गरेका छन् । जीबीले आफूलाई सहकारीको सचिव बनाएको दुई महिनापछि मात्रै थाहा पाएको उल्लेख गरे । ‘कार्यक्रम सकिएको करिब दुई महिनापछि संस्थाका कार्यकारीले जिबी राईले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौँ भन्ने जानकारी गराएका थिए,’ उनले सम्झँदै भने ।

यस्तो छ पुनको बयान :

म बाल्यकालदेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु, देशमा राजनीतिक परिवर्तनसँगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति (सरकार, सहकारी र निजी क्षेत्र) को बारेमा अध्ययन गरेको थिएँ। सोही क्रममा सहकारीप्रति मैले अध्ययन गरेको जाने बुझेसम्म सकारात्मक रूपमा आत्मसात गर्दै नेपालको न्यून आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामिण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरूको आर्थिक जीवनस्तर वृद्धि गर्दै जनतालाई आत्मनिर्भर, उद्यमशील बनाउँदै आर्थिक र सामाजिक परिवर्तनको लागि सहकारीले सहयोग पुर्याउन सक्छ, यसको लागि सहकारी अभियानलाई अगाडि बढाउनुपर्छ यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा राम्रो सहकारी अभियानलाई साथ दिनुपर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो । 

यसै क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो । उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ भने उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारीक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरू तथा पत्रकारहरू उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित वक्ताले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए । मैले पनि अतिथिको रूपमा उपस्थित भएपश्चात् सहकारीको बारेमा जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ । म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिष्टरमा हस्ताक्षर गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिष्ट्ररमा हस्ताक्षत गरेर म बिदा भई निस्केको हुँ । मैले उक्त सहकारीको रकम हिनामिना गरेको छैन, म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा अतिथिको रूपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितिको रजिष्ट्ररमा हस्ताक्षार गरेकोसम्म मलाई याद छ अन्य कुराहरू मलाई याद भएन ।

सचिवको वा अन्य के कसोमा हस्ताक्षर देखिएको हो मलाई याद भएन । कार्यक्रम सकिएको करिब दुई महिनापछि संस्थाका कार्यकारीले मलाई फोन गरी तपाईंको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाउँ तपाईंको आफन्तहरू पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी सस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षण रूपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) ले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौँ भन्ने जानकारी गराएका थिए ।

मैले गितेन्द्र बाबु राई, अन्य परिवार र साथीभाईहरूसँग सल्लाह गरी खबर गरौंला भनेको थिएँ, उक्त खबर पाए पश्चात् मैले गितेन्द्रबाबु राईसँग यो विषयमा कुरा गर्नको लागि धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन । मैले सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाममा सचिवको रूपमा नाम राखी पठाएका छन् भन्ने जानकारी पाएपश्चात् मैले परिवार र साथी भाइहरूसँग सल्लाह गर्दा मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईं रुपन्देही स्थायी बासिन्दा पनि होइन र तपाईं कानूनतः रूपन्देहीमा रहेको सहकारीमा सञ्चालक समितिमा बस्न मिल्दैन भन्ने कुरा भएपश्चात् मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्थाप्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ । 

मैले राजीनामा बुझाएको केही महिनापछि कोभिड–१९ को कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन । कोभिड–१९ को बीचमा संस्थाका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईंको राजीनामा भइसकेको छ । कोभिड–१९ को कारणले गर्दा सञ्चालक र कर्मचारीसँग भौतिक भेट भएको छैन । तपाईंको राजीनामा जुन दिन साधारण सभा हुन्छ सोही दिन तपाईंले राजीनामा दिएको मितिदेखि नै स्वीकृत हुने गरी अनुमोदन हुन्छ । तपाईंको यसमा कुनै पनि आर्थिक र कानुनी दायित्व हुँदैन र राजीनामा अनुमोदन जानकारी सहकारी विभागलाई दिन्छौं । तपाईंले सचिव भई कुनै पनि निर्णय गर्नु भएको पनि छैन र तपाईं सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नु भएको छैन । पीर नगर्नुहोस भनेका थिए ।

सोपश्चात् मैले यस संस्थाप्रति मेरो कुनै जानकारी र चासो राखिनँ, पछि मेरो राजीनामा साधारण सभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए, मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम  तीन लाख लिएको होइन, उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन भने पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेश कुमार पुन भएको हुँदा नाम समेत फरक छ ।

मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन । मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन र कुनै रकम मेलै लिएको पनि छैन ।

उक्त सहकारीबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा २ करोड र उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया (ग्यालेक्सी टेलिभिजन) मा १२ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर गरेको पाइएको छ ।

टिप्पणीहरू