मृतकलाई शहिद घोषणा र परिवारलाई क्षतिपूर्ति : राप्रपा

मृतकलाई शहिद घोषणा र परिवारलाई क्षतिपूर्ति : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बर्दियाका नेता ठाकुरप्रसाद डाँगीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको निधनमा शोक प्रकट गर्न सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिइएको छ ।

डाँगीको निधनप्रति दुःख व्यक्त गर्दै शहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरिएको छ । संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि भएको प्रशासनिक दमन निन्दनीय रहेको जनाउँदै राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो । स्व. ठाकुरप्रसाद डाँगीलाई शहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’

गत चैत २७ गते राप्रपाले आयोजना गरेको काठमाडौं केन्द्रित बृहत् आन्दोलनमा प्रहरीको अश्रुग्यास लागेपछि सख्त घाइते भएका उनको उपचारको क्रममा आज बिहान निधन भएको हो । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भएपछि अन्तिम संस्कारका लागि शव गृहजिल्ला लगिएको छ ।

टिप्पणीहरू