अमिर आउनुअघि दुई दर्जन कतारी अधिकारीहरु काठमाडौंमा

अमिर आउनुअघि दुई दर्जन कतारी अधिकारीहरु काठमाडौंमा

कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने राजकीय भ्रमण गर्न लागेका छन् । वैशाखको ११ र १२ गते हुने भ्रमणको तयारीका लागि दोहाबाट २३ जना अधिकारीहरु आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतले भ्रमणको मिति तय भइनसकेको जनाएको छ ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा अव्दुल्लाह मोहम्मद अल अतियाहको नेतृत्वमा आएको टोलीले सरकारका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ । उनीहरुले परराष्ट्र, गृह र रक्षा मन्त्रालयका अधिकारीहरुसँग भ्रमणको तयारीबारे जानकारी लिने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा अमिर थानीले नेपालको राजकीय भ्रमण गर्ने निश्चित भएको छ । आज आएको टोलीमा नासेर मोहम्मद अलातिया, अब्दुल्ला हमाद एइदा, फाद जुमा कुताइती, अब्दुलाजिज फाहद मोहनादी, अहमद सालेम अलकाबी र सैयद अलि मारी छन् ।

त्यस्तै सौद अब्दुल्लाजिज मारजौकी, सायर रेदा शमारी, खालिद अब्दुल्ला हमादी, मोहम्मद हसन, रसिद मोहम्मद अल शाहवानी र अब्दुल्ला हमाद मारी पनि टोलीमा छन् । टोलीका अन्य सदस्यमा माजेद मोहम्मद मानसुरी, फारेस मोहम्मद क्वासुती, घारेब मैध क्वातानी, हसन सुलैमान शमारी, असल हकेम शमारी, अहमद हमाद मोहन्नादी, सालेम अलि जेरबुई, अहमद मोहम्मद मिसाइफिरी, अब्दुल्ला मोहम्मद काबी र नासेर सालेह मारी हुन् ।

कतारका अमिरलाई नेपाल सरकारले हात्तीका दुई वटा बच्चा (छावा) उपहार दिने तयारी छ ।

टिप्पणीहरू