१७ वर्षअघि सुटुक्क, अहिले सजायँ

१७ वर्षअघि सुटुक्क, अहिले सजायँ

सरकारी सिन्दूर पहिरिएर राज्यको लगानी भोग गर्नेलाई कतै गए पनि कानुनले नछोड्ने रहेछ भन्ने कुराको पुष्ट्याइँ भएको छ ।

सैनिक आचरणविपरीत काम गर्नेलाई सेनाले आकाश पातालमै पुगेर पनि धमाधम दण्डित गरिरहेको छ । यसै क्रममा वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत प्राविधिक सहसेनानी डा.बद्री थापालाई सेनाले १७ वर्षपछि दण्डित गरेको हो । 

ब्याच नम्बर ३१५८ भएका उनी २०६३ जेठ २२ गतेदेखि बेपत्ता छन् । ‘भगौडासम्बन्धी कसूर गरेको’ मुद्दाको पुर्पक्ष गर्न सहायक रथी ध्रुवप्रकाश शाहको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन गरिएको थियो । अदालतले केही महिनाअघि उनलाई उक्त कसूरमा दोषी ठहर गरेको छ । 

उक्त अदालतले सैनिक ऐनको दफा १०१, उपदफा (१) को खण्ड (घ) बमोजिम सोही दिनदेखि भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला गरेबमोजिम प्रधानसेनापति प्रभुराम शर्माले उक्त फैसला सदर गरेका छन् । यसबीच कार्यालयलाई जानकारी नै नगराई बेपत्ता भएका अर्का क्याप्टेनलाई पनि कारबाही गरिएको छ । श्री रिपुमर्दन गणका सन्तोष जर्गा मगरलाई सेवाबाट हटाउने र बढी बुझेको आठ दिनको तलब असुलउपर गर्ने फैसला भएको छ । 

२०७८ पुस २४ गतेबाट कार्यालय नआएका ब्याच नम्बर ४६२९ भएका उनले ‘भगौडासम्बन्धी कसूर गरेका’ हुन् । सो मुद्दाको पुर्पक्ष गर्न नम्बर ७ बाहिनी अड्डाका महासेनानी विजय केसीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन भएको थियो । 

यसैबीच घरायसी समस्या देखाएर राजीनामा दिएका केही सैनिक अधिकृतको राजीनामा स्वीकृत भएको छ । वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक प्रमुख सेनानी डा.सन्तोष खड्काले निवृत्तिभरणमा राजीनामा दिएका हुन् । उता सेनानी राजेश कार्कीको उपदानमा राजीनामा स्वीकृत भएको छ । उनी सैनिक प्रतिष्ठानमा कार्यरत थिए । रुद्रध्वज गणका उपसेनानी अटलकुमार झाले पनि राजीनामा दिएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू