युद्धग्रस्त म्यानमारका नेपाली समुदाय परम्परा धान्दै

सुन्नुहोस्

बर्मेली सैनिकले दिएको सास्ती भुल्दै नाम्टु नगर (शान स्टेट) का नेपालीहरूले नाचगानसहित ‘पानी पर्व अर्थात् ‘थिंग्यान’ मनाएका छन् ।

तीन महिनाअघि मात्रै नागरिक समूह ‘टीएनएलए’ ले आफ्नो कब्जामा लिएको म्यान्मारको नाम्टू नगरलाई एक दशकअघि दोस्रो नेपाल भनिन्थ्यो ।

नाम्टूमा हजारौँ नेपालीमूलका बर्मेलीको बसोबास छ । उनीहरूले गालामा चन्दनको लेप र हातमा पहेंलो फूल समात्दै म्यान्मारको परम्परागत नयाँ वर्षलाई स्वागत गरेका हुन् ।

उनीहरूले बुट्टेदार चाँदीको भाँडोमा फूल डुबाउँदै हालै विजय प्राप्त गरेका विद्रोही सिपाहीलाई शुभकामना सन्देश बाँडेका छन् । परम्परागत नेपाली कला–संस्कृतिमा सजिएका स्थानीयले अस्ति नाम्टूलाई ‘नेपालमय’ बनाएका थिए।

नेपाली चेलीहरूले ‘आँखैमा राख्छु मेरो देश’ बोलको गीतमा नृत्य गरेका थिए । नेपाली जातिको भाषा, साहित्य–सभ्यता, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रस्तुत गरिएको थियो ।

नेपालीसहित अन्य जाति पनि आफ्नो जातीय पहिचान झल्काउँदै पानी मेलामा सहभागी भएका छन् । पानी उत्सव पूर्ण उत्साहका साथ म्यान्मारभर मनाइन्छ ।

बर्मेलीहरू एकअर्कालाई पानी छ्यापेर होलीकै शैलीमा ‘पानी पर्व’ मनाउँछन् । अप्रिल महिनाको मध्यतिर मनाइने ‘पानी उत्सव’ पाँच दिनसम्म चल्छ ।

पर्वको एकखाले बेग्लै धार्मिक महत्व पनि छ । बौद्ध धर्मावलम्बीहरूले प्यागोडा र गुम्बाहरूमा भेटीहरू चढाउँछन् । पानी पर्वः अघिल्लो वर्षको दुर्भाग्य र पापहरू पखाल्दै नयाँ वर्षलाई स्वागत गर्ने एक प्रतिक मानिन्छ । मानिसहरू एकअर्कालाई बाल्टिन र पाइपको माध्यमबाट पानी छ्याप्ने गर्छन् ।

म्यान्मारका सडक यो समयमा जलमग्न हुन्छन् । सबै उमेरका मानिस उत्सवमा सहभागी हुन्छन् । संगीतमा नाच्दै सडकमै खानाको आनन्द लिन्छन् ।

पानी पर्वले म्यान्मारको सामुदायिक एकतालाई एकै ठाउँमा ल्याउन र मित्रताको भावनालाई बढावा दिने विश्वासका साथ नयाँ वर्ष मनाउन हात मिलाउने गरेको पाइन्छ । थिंग्यानले चाडपर्वको जीवन्तता र उत्साहलाई फराकिलो बनाउँदै आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

नाम्टू नगरमा नागरिक शासन फर्किएपछि स्थानीय खुशी देखिन्छन् । नागरिक समूहले सबै जाति–जनजातिलाई समान अधिकार प्रदान गर्दै आएको छ । सैनिक शासन लागू हुँदा थुनिएका बर्मेलीहरू विस्तारै मुक्त हुन थालेको बताइन्छ ।

टिप्पणीहरू