आलु महोत्सवमा बियरको खुल्लमखुल्ला प्रचार !

आलु महोत्सवमा बियरको खुल्लमखुल्ला प्रचार !

पोखराको हेम्जामा आयोजित राष्ट्रिय आलु महोत्सवमा बियरको प्रचार गरिएको छ । नेपालको कानुनले सार्वजनिक क्षेत्रमा मध्यपानको प्रचार गर्न बर्जित गरेको छ । तर विभिन्न  सस्थाले आयोजना गर्ने मेला महोत्सवले कानुनलाई कुल्चिएर मध्यपानको व्यापक प्रचार गर्दै आएपनि त्यसतर्फ प्रहरी प्रशासनले चासो दिएको देखिँदैन ।

हेम्जामा प्रत्येक वर्ष हुँदै आएको आलु महोत्सवमा पनि प्रायोजकको रुपमा टुबोर्ग बियरको प्रचारलाई प्राथमिकता दिइएको देखिन्छ । कानुनले बर्जित गरेको वस्तुको प्रचार गर्दा स्थानीय सरकार र प्रहरी प्रशासनको मौनतालाई अर्थपूर्ण ठानिएको छ ।

आलु महोत्सव सामुदायिक विद्यालय विष्णुपादुका माविको खेल मैदानमा  आयोजना गरिएको छ । विद्यालय क्षेत्रको एक सय मिटर वरपर धुम्रपान, मद्यपान सेवन र बेचबिखन गर्न पाईंदैन । तर विद्यालय परिसरभित्रै बियरको ठूला बोर्ड र स्वागत गेटहरु राखिएका छन् । 

कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको बाक्लो गस्ती मेला परिसरमा भएको देखिन्छ । उनीहरुले त्यहाँ भइरहेको गैरकानुनी कार्यको रोकथामप्रति कुनै पहल गरेको पाईंदैन । यसले अराजकतालाई संस्थागत गर्नुका साथै दण्डहीनतालाई प्रश्रय दिएको प्रष्ट हुन्छ ।

यसबारे जिज्ञासा राख्दा कास्की प्रहरी प्रवक्ता वसन्त शर्माले आफू भर्खर सरुवा भइआएकाले जानकारी नभएको बताए । उनले भने, ‘बगर प्रहरीलाई बुझ्न पठाएर प्रचार बोर्ड  राखेको  भए हटाउन लगाइन्छ ।’ चैत्र २५ देखि शुरु भएको मेला वैशाख ५ गतेसम्म हुँदै छ ।

विष्णु पादुका क्लब एउटा सामाजिक उद्देश्यले स्थापित संस्था हो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको क्लबले मेलाको नाममा गैरकानुनी  काम गर्छ भने त्यसको अनुगमन र नियमन कसले गर्ने ? विद्यालय परिसरमा मद्यपानको खुल्ला प्रचार गरिँदा भविष्यका कर्णधार विद्यार्थीमा कस्तो सन्देश जाला ?

टिप्पणीहरू