सत्र बुँदेको जवाफ के छ त श्रीमान् ?

सत्र बुँदेको जवाफ के छ त श्रीमान् ?
सुन्नुहोस्

अर्बौं रुपैयाँ अनियमितता गरेको आरोपमा लगातार एक हप्ता अख्तियार धाएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई रातोघरबाट फेरि अर्को पुर्जी काटिएको छ ।

एक हप्तासम्म आयोगको मुख्यालय टंगालमा बयानका लागि नियमित गइरहेका उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भए÷गरेका अनियमिततासम्बन्धमा डेढ दर्जन विषयमा प्रष्ट पार्न भनिएको छ । बयानमा चित्त नबुझाएर १७ वटा बुँदामा केन्द्रित हुँदै काटिएको पुर्जीको भाषाले भन्छ, ‘चैत २७ गते प्रधानमन्त्रीलाई भेटेर हारगुहार गरे पनि अब उम्किने ठाउँ कहाँ छ ?

अख्तियारलाई पठाइने जवाफको अन्तिम तयारी चलिरहँदा स्वयं उच्च तहका कर्मचारी नै रनभुल्लमा परेको पाइएको छ । आयोगले सोधेको अपडेटेड बिओक्यु अर्थात् संशोधित टेण्डरबारे प्रष्ट पार्दै उनीहरू भन्छन्, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मूल ठेक्कासम्बन्धी सबै निर्णय सञ्चालक समितिले गरेकोमा भ्रष्टाचार र चलखेलको प्रारम्भ बिओक्यु संशोधनपछि नै भएको हो । तत्कालीन महानिर्देशक राजन पोखरेललाई प्रभावमा पारेर अधिकारीले डिजी लेभलबाट गराएको संशोधन तोकिएको बजेटप्रति लक्ष्यित थियो ।’ 

डिटेल डिजाइनको नाममा कन्सल्टेन्सी नियुक्तिदेखि नै चलखेल शुरु भएको उनीहरूको दाबी छ । विदेशीको सट्टा स्थानीय परामर्शदाता नियुक्त गर्दा सँगै नेविसंघको राजनीति गरेका इञ्जिनियरहरू कमल कार्की, शोभन्द्रराज जोशी, प्रमोद दवाडीको कम्पनीलाई काम दिइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक जना भूपू जिएमले भने, ‘ठेकेदार विदेशी, अनुगमनकर्ता स्वदेशी । क्या मज्जा !’

अख्तियारले कात्तिक १२ गते पोखरा विमानस्थल आयोजना कार्यालयमा छापा मारेपछि परामर्शदाता कम्पनीका सबैजसो कर्मचारीले राजीनामा दिनुलाई पनि आकस्मिक संयोग मान्न सकिन्न । महानिर्देशक अधिकारीसहित बयानका लागि अख्तियार धाउन थालेपछि उनीहरूले एकाएक राजीनामा बुझाएका हुन् ।

उता चिनियाँ ठेकेदार कम्पनीलाई सन् २०२२ डिसेम्बरमा दिइएको विमानस्थल ह्याण्डओभर सर्टिफिकेटमा डिएलपी अर्थात् त्रुटि कार्य सच्चाउने अवधि ३६५ दिन भन्ने उल्लेख छ । ०२३ जनवरी १ का दिन हतार हतारमा प्रधानमन्त्रीको हातबाट उद्घाटन गराइएको विमानस्थलको डिएलपी अवधि समाप्त भएको तीन महिना नाघिसकेको छ । विदेशी ठेकेदार कम्पनीले अधिकारीले दिएको सोही बुँदामा टेकेर काम सम्पन्न भएपछिको भुक्तानीका लागि ताकेता गरेको गर्‍यै  छ । यता अख्तियारले छानबिन थालेपछि विमानस्थलका केही काम बाँकी नै रहेको अर्को पत्र चिनियाँलाई बुझाइएको छ । 

यसबीच, मासिक ३० लाख रूपैयाँ खर्चेर प्राधिकरणले नै पोखरा विमानस्थलका निम्ति अन्तर्राष्ट्रिय विज्ञ नियुक्त गरेको छ । ७८ वर्षे बेलायती इञ्जिनियर केथ किडरसनलाई फेब्रुअरी १४ देखि तीन महिनाका लागि ९० लाख रूपैयाँ पारिश्रमिक दिन थालिएको हो । उनलाई विमानस्थल निर्माण क्रममा भएको ड्रइङ, डिजाइन र फिल्डको यथार्थ रिपोर्ट दिनुपर्ने जिम्मेवारी तोकिएको छ । अहिले उनै बेलायतीले लिखत र फिल्डको काम भिडाउँदा फेला परेका कमजोरीबारे हरेक दिन प्रिजेन्टेसनमार्फत जानकारी गराउँदै चिनियाँ ठेकेदार कम्पनी र नागरिक उड्डयन प्राधिकरण दुबैको उत्तिकै कमजोरी रहेको जनाएका छन् ।

केथले बुझाएको प्रारम्भिक रिपोर्टमा टर्मिनलको केही स्थानमा पानी चुहिएको व्यहोरा उल्लेख छ । त्यस्तै विमानस्थल छिर्ने एक्सेस रोडमा पासिङ गेट हालसम्म निर्माण नभएको, सेक्युरिटी भवन बनिनसकेको, वाटर रिजर्भ ट्याङ्क पनि नबनाइएको, दुबोलगायत हरियालीको लागि कुनै पहल नगरेको विषय मुख्य छन् । 

पोखरा विमानस्थल अझै पनि निर्माण क्रममा रहेको र हालसम्म तीन जनाले ज्यान गुमाएको पाइएको छ । फाउण्टेन आसपास केही वर्षअघि सवारी दुर्घटनामा एक जना कामदारको ज्यान गएको थियो । अर्को दुर्घटनामा नेपाली सेनाका एक जवानको पनि मृत्यु भयो । चैत ११ गते फायरमा कार्यरत प्राधिकरणका अधिकृत शिव धितालको विमानस्थल परिसरभित्रै सडक दुर्घटनामा ज्यान गएको थियो ।

प्रदिप अधिकारी संलग्न प्राधिकरणका अनियमिततासम्बन्धी सबै विषयलाई नजिकबाट नियालिरहेका एक जना विज्ञ भन्छन्, ‘अख्तियारको १७ बुँदे ताकेता र वायुसेवा निगमको वाइडबडी विमान खरिदको सन्दर्भ र नजीर उस्तै हुन् । अख्तियारले निरन्तर छानबिन र बयान लिन थालेपछि आयोजना प्रमुख बिनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजना प्रमुख चाँदमाला श्रेष्ठ र प्राधिकरण प्रशासनका उपप्रबन्धक राजेन्द्रप्रसाद पौडेल प्रायः मध्यरातसम्म कार्यालयमा भेटिन थालेका छन् । सिनामंगलमा हालै बनाइएको तीन अर्ब बढीको  आलिशान भवनमा बसेर निकालिएको हाकिमहरूको अन्तिम निचोड सुनाउँदै स्रोत भन्छ, ‘बिग्रेको भनिएका जति सबै काम र त्यसको कारक चिनियाँ ठेकेदार कम्पनी हो । तसर्थ अख्तियारको छानबिन नटुंगेसम्म उसलाई अन्तिम भुक्तानी दिइने छैन । टेकिङ ओभर सर्टिफिकेट पनि जारी गरिन्न ।’

आयोगको महाशाखा नम्बर ७ ले चैत १२ गते पठाएको पत्रको जवाफ गत मंगलबारसम्म पेश गर्न भनिएको थियो । प्रदिप उक्त विमानस्थल परियोजनाका प्रमुख हुन् । आयोगले सोधेको पहिलो बुँदामा चाइना सिएमसी इञ्जिनियरिङका सिइओ, तत्कालीन महानिर्देशकहरू टिआर मानन्धर, राजन पोखरेल, रतिशचन्द्रलाल सुमन, राजीव गौतमको ठेगाना, इमेल ठेगाना र मोबाइल नम्बर उपलब्ध गराउन भनिएको छ ।

त्यसैगरी योजना प्रमुख विनेश मुनकर्मी, चाँदमाला श्रेष्ठको आधिकारिक पत्राचारको ठेगाना, इमेल ठेगाना, मोबाइल नम्बर र परामर्शदाताहरूको सिईओ, टिम लिडरहरूको पनि सबै विवरण उपलब्ध गराउन भनिएको छ । पत्रमा कार्यान्वयन सम्झौताको मस्यौदामा तत्कालीन महानिर्देशक र वर्तमान महानिर्देशकबाहेक अन्य पदाधिकारीसमेतको राय रहेको भए सोको टिप्पणी र सो संलग्न कागजातहरू, चाइना सिएमसी इञ्जिनियरिङले विमानस्थल निर्माणको ठेक्का प्राप्त गर्नुपूर्व संलग्न रहेका विभिन्न चरणहरूबारे विवरण उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । पत्रको बुँदा नम्बर ३ मा अपडेटेड बिओक्यु तयार गरी स्वीकृत भएको टिप्पणी फाइल र सो कुरा मन्त्रालयस्तरबाट समेत स्वीकृत भएको भए टिप्पणी पेश गर्न भनिएको छ । 

बुँदा नम्बर ५ मा डिटेल डिजाइन रिपोर्टस भए सोको प्रतिलिपि, डिटेल डिजाइन ड्रइङ स्वीकृत गर्ने पदाधिकारीको डिटेल्स र अख्तियारी दिएको भए सोको निर्णय तथा पत्र पनि बुझाउनुपर्ने व्यहोरा उल्लेख छ ।बुँदा नम्बर ६ र ७ मा विभिन्न कागजात र विवरण उपलब्ध गराउनुपर्ने भन्दै लेखिएको छ, ‘चाइना सिएमसी इञ्जिनियरिङको निर्माण कार्य सम्पन्न हुने र डिएलपीको अन्तिम मिति साथै निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी भए सोको कारणसहित रकमको अवस्था विवरण । पोखरा विमानस्थलको बोलपत्रको कागजात तयार गर्ने, ठेक्का सम्झौता तयार गर्ने, चेक गर्ने र स्वीकृत गर्ने पदाधिकारीहरूको नाम, ठेगाना, इमेल, मोबाइल नम्बरका साथै बोलपत्र प्रयोजनको लागि जारी गरिएको बिडिङ डकुमेन्टको प्रमाणित प्रतिलिपि ।’

आयोगले विमानस्थल निर्माणअघि आर्थिक र व्यावसायिक सम्भाव्यताबारे बनाइएको विस्तृत योजना बारेमा पनि सोधनी गरेको छ । बुँदा नम्बर ८ मा लेखिएको छ, ‘पोखरा इन्टरनेशनल एअरपोर्टको बिजनेस प्लान र उक्त निर्माण कार्यमा चिनियाँ सरकारबाट लिइएको ऋणको भुक्तान सोही विमानस्थलको राजश्वबाट गर्न नसकिने कारणहरू र हालसम्म ऋण चुक्ता तथा थप निर्माण कार्यमा प्रयोग भएको आर्थिक स्रोतबारे विस्तृत जानकारी विवरण ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विभिन्न अन्तर्राष्ट्रिय विमानहरू पोखरातर्फ डाइभर्ट गर्न गरिएको प्रयासको विवरण, पोखरामा दुईतर्फी वा एकतर्फी रूपमा अवतरण उडान हुनसक्ने अन्तर्राष्ट्रिय जहाजहरूको प्रकार र हाल व्यावसायिक रूपमा सञ्चालन हुन नसक्नाको कारण तथा सुधारका उपाहरूबारे पनि महानिर्देशकसँग जानकारी माग गरिएको छ ।

आयोगले विमानस्थल निर्माण कार्य, भुक्तानी वा स्वीकृति दिने कार्यको लागि जिम्मेवारीहरू तोकिदिइएका विभिन्न कर्मचारी, पदाधिकारीको कार्य विवरण र दिइएको पत्रहरूको प्रमाणित प्रतिलिपि मागेको छ । त्यस्तै रिठ्ठेपानी डाँडामा माटो कटिङलगायत कार्य गर्न भएको सम्झौताअनुसार अन्तिम बिल, नापी किताब, भुक्तानी बिल भौचरको प्रमाणित प्रतिलिपि तथा सोमा संलग्न कर्मचारी तथा निर्माण व्यवसायीको ठेगाना, इमेल, मोबाइल नम्बर उपलब्ध गराउनसमेत अधिकारीलाई दिइएको पत्रमा उल्लेख छ ।

रनवेको लेभल तय गर्न लिइएका विकल्प तथा विश्लेषणसहितका आधारहरू, पुरानो विमानस्थलसमेत सञ्चालनमा राख्नुपर्ने कारण, गत वर्ष दुर्घटनामा परेको यती एअरलाइन्सको छानबिन समितिको प्रमाणित प्रतिवेदन पनि आयोगले मागेको छ ।विमानस्थल निर्माणमा प्रयोग भए÷नभएका सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ का प्रावधानहरू र हुन नसकेको भए सोको विवरण पनि अख्तियारलाई उपलब्ध गराउनुपर्ने भएको छ ।

बुँदा नम्बर १६ मा विमानस्थलको अडिट रिपोर्ट र सोमा सुधारको लागि भएको निर्देशनबमोजिम भएका प्रयास र बुँदा नम्बर १७ मा विमानस्थल निर्माणको महालेखा परीक्षणबाट औंल्याइएका बेरुजुहरूमध्ये सम्परीक्षण हुन नसकेका बेरुजुहरूको विवरण र सोमा प्राधिकरणको प्रतिक्रियाको प्रमाणित प्रतिलिपि पनि अनुसन्धान अधिकृतले मागेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू