उपराष्ट्रपति कार्यालयमा नेपाल–पाकिस्तान सम्बन्ध घनिष्ठ बनाउन छलफल

उपराष्ट्रपति कार्यालयमा नेपाल–पाकिस्तान सम्बन्ध घनिष्ठ बनाउन छलफल

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाशमीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज अपरान्ह उपराष्ट्रपतिको कार्यालय, लैनचौरमा दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउने सम्बन्धमा छलफल भएको बताइएको छ ।

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग, क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमाथि गहन छलफल भएको जनाइएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले दुई मुलुकबीच भएका उच्चस्तरीय भ्रमण र आदानप्रदानले सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानले सम्बन्धलाई थप कसिलो बनाउन व्यापार र आर्थिक क्षेत्रलाई फराकिलो बनाउनु सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हाम्रा दुई मुलुकले व्यापार, लगानी, पर्यटन, संस्कृतिलगायत विषयमा अघि बढाउने हातले जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।’ सो अवसरमा सार्कको वर्तमान अध्यक्ष मुलुक नेपाल अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आतुर रहेको जानकारी पनि गराइएको छ ।

उपराष्ट्रपतिले व्यक्त गर्नुभएका धारणाप्रति धन्यवाद व्यक्त गर्दै प्रत्युत्तरमा राजदूत हाश्मीले दुई मुलुकबीचको हवाई सम्बन्ध पुनस्थापित हुने विश्वास राख्नुभएको छ । पाकिस्तान नेपाललाई पर्यटन, व्यापारलगायत क्षेत्रमा सहयोग गर्न सँधै तयार रहेको उहाँको भनाइ थियो ।

टिप्पणीहरू