बढ्दो प्रदूषणको गम्भीर असर जनस्वास्थ्यमा

बढ्दो प्रदूषणको गम्भीर असर जनस्वास्थ्यमा

हिउँद सकिएर वसन्त ऋतु शुरु भएपछि मुलकका अधिकांश भूभागझैँ काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्दो क्रममा छ । राजधानी काठमाडौं वायु प्रदूषणको दृष्टिले विश्वकै उच्च स्थानमा पर्ने गरेको छ । 

यसको असर जनस्वास्थ्यमा देखिन थालेको छ । सबै उमेर समूहका मानिसमा प्रदूषणको असर परेपनि विशेषगरी वृद्धवृद्धा, दीर्घ रोगी र बालबच्चाहरुमा बढी प्रभाव छ । प्रदूषणको असर तत्काल कम र दीर्घकालमा बढी हुने चिकित्सकहरु बताउँछन् । 

राजधानीको भित्री भागमा बस्दै आएकी सरिता सापकोटा प्रदूषण बढेकाले आफूमा स्वर भासिने, घाँटीमा खस–खस हुने, रुघाखोकीजस्ता समस्या देखिएको बताउँछिन् । उनले भनिन्, ‘उपत्यकामा प्रदूषण बढेको निकै भइसक्यो । विभिन्न खालका समस्याले सताउन थालेको छ ।’

यता, भक्तपुरको कमलविनायक बस्दै आएका सुमन केसी पनि प्रदूषणका कारण छाला, नाक, आँखा चिलाएको र श्वासप्रश्वासमा समेत समस्या भइरहेको अनुभव सुनाउँछन् । ‘उपत्यकामा प्रदूषण हवात्तै बढेको छ,’ उनले भने, ‘प्रदूषणका कारण घर बाहिर निस्कँदा छाला, नाक र आँखा चिलाउँछ । सास फेर्न पनि गाह्रो हुने गरेको छ ।’ 

कामका लागि नियमित नयाँ बानेश्वर आउजाउ गर्ने उनी स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि केही दिनका लागि बिदामा बसेको सुनाउँछन् । ‘केही दिनको लागि छुट्टीमा बसेको छु । त्यतिखेरसम्म प्रदूषण हट्छ कि,’ केसीले भने । 

काठमाडौं विश्वकै प्रदूषित सहर 

पछिल्लो केही वर्षदेखि यो सिजनमा काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा माथिल्लो १० नम्बरभित्र परिरहन्छ । गत सातादेखि बढिरहेको प्रदूषणले उक्त हैसियतलाई थप बल पुर्याएको छ ।

विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने स्विट्जरल्याण्डको आईक्यु एयरले गत बुधबार काठमाडौंलाई वायु प्रदूषणको हिसाबले विश्वमै पहिलो नम्बरमा देखाएयो । बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) को मात्रा २६४ रहेको उसले जनाएको छ । काठमाडौं उपत्यकाभित्र खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण निकै अस्वस्थकर अवस्थामा पुग्ने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एक्युआई १५० भन्दा माथि पुग्दा वायु अस्वस्थकर हुन्छ । ३०० भन्दा माथि पुगे खतरनाक मानिन्छ ।

वायु प्रदूषणका कारण

वायु प्रदूषण विश्वव्यापी समस्याको रुपमा देखिएको छ । नेपाललगायत दक्षिण एसियामा सुख्खा हिउँदे याममा प्रायः वायु प्रदूषण बढी हुने गरेको छ ।

सवारी साधनबाट निस्किने धुँवा, इँट्टाभट्टा तथा निर्माण कार्य र क्षेत्रबाट उत्पन्न फोहोर, सडकमा उड्ने धुलो, कलकारखाना र डढेलोबाट निस्किने धुँवा यसका मुख्य कारण हुन् । 

वर्षेनी हजारौंले ज्यान गुमाउँदै  

नेपालमा वायु प्रदूषणबाट निम्तिने विभिन्न रोगबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी मुलुकमा वर्षेनी ४२ हजारभन्दा बढीको यसबाट ज्यान जाने गरेको विभिन्न अध्ययनले देखाएको बताउँछन् ।  

उनी भन्छन्, ‘नेपालमा वार्षिक ४२ हजारभन्दा बढीको ज्यान वायु प्रदूषणबाट निम्तिएका विभिन्न रोगबाट जाने गरेको छ । यो डब्लुएचओलगायत धेरै वटा स्वास्थ्य संगठनको अध्ययनले देखाएको तथ्याङ्क हो ।’

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का अनुसार वायु प्रदूषणले श्वासप्रश्वास, मुटुरोग, क्यान्सरजस्ता रोगहरु पनि निम्त्याउँछ । काठमाडौं उपत्यकामा प्रदूषित हावाका कारण वार्षिक मुत्युदर झण्डै छ सय रहेको उसले जनाएको छ । 

वायु प्रदूषणले दीर्घकालीन फोक्सोको रोगबाट हुने मृत्युदर ६६ प्रतिशत तथा मुटुरोगबाट हुने मृत्युदर ३४ प्रतिशत रहेको युएसएआईडीको भनाइ छ । 

ठूलो वर्षापछि प्रदूषण कम

वातावरण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता तारादत्त भट्ट पर्याप्त पानी नपरेसम्म प्रदूषण नहट्ने बताउँछन् । उनका अनुसार प्रदूषण बढ्नुको मुख्य कारण डढेलो हो । 

अरु बेला सवारीसाधन, उद्योग, कारखाना, फोहोर जलाउँदा निस्किएपनि हाल देशैभर डढेलोले प्रदूषण बढिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टले भने, ‘हालको प्रदूषण हट्न कि त मजाले हावा चल्नुपर्छ कि पानी पर्नुपर्छ ।’

डढेलो बढेमा प्रदूषण झन् बढ्ने उनको भनाइ छ । विभागले हावाको गुणस्तर र प्रदूषण न्यूनीकरणका लागि काम गरेपनि डढेलो नियन्त्रण कार्यक्षेत्र बाहिर रहेकाले सम्बन्धित निकायले नै हेर्नुपर्ने प्रवक्ता भट्टले बताए । 

तत्काल वर्षाको सम्भावना न्यून

मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल पानीपर्ने सम्भावना कम छ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । जसअनुसार मुलुकको मौसम मुख्यतया सफा रहेपनि वर्षा हुने सम्भावना कमै रहेको बताइन्छ । 

प्रदूषणबाट जोगिने उपाय 

वायु प्रदूषणले सबैभन्दा धेरै वातावरणमा नकारात्मक असर पार्छ । त्यसको प्रत्यक्ष प्रभावको रुपमा मानिस अनेकौं रोगको सिकार बन्छ । अहिले बढ्दो प्रदूषणका कारण जनस्वास्थ्य दिनप्रति दिन बिग्रिँदो छ । 

यस्तो अवस्थामा सकेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न र घरबाट बाहिर ननिस्कन चिकित्सकहरुको सुझाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बुढाथोकी प्रदूषणबाट जोगिन सकेसम्म घरभित्रै बस्न सल्लाह दिन्छन् । बाहिर निस्कन परेमा मुखमा मास्क लगाउन र कपडा पनि शरीर वा छाला पूरै ढाक्नुपर्ने बताइन्छ । 

‘प्रदूषणका कारण छाला चिलाउँछ, आँखा पोल्छ र सास फेर्न पनि असहज हुन्छ । त्यसैले, यस्तो बेलामा सकेसम्म बाहिर निस्कनुहुँदैन । निस्कनै परे मुखमा अनिवार्य मास्क लगाउनुपर्छ । र, छाला ढाकिने गरी कपडा लगाउनुपर्छ,’ उनले भने । 

त्यस्तै, झोलिलो वा पोषणयुक्त खानेकुरा खानुपर्ने र सुख्खा खोकी, टाउको दुख्ने वा वाकवाक लाग्नेजस्ता समस्या देखिएमा तत्काल चिकित्सकसँग रायसुझाव लिनुपर्ने उनले बताए ।

टिप्पणीहरू