‘दिना–भद्री बाबालाई राष्ट्रिय विभूति घोषणा गरियोस्’

‘दिना–भद्री बाबालाई राष्ट्रिय विभूति घोषणा गरियोस्’

मोरङका ऋषिदेव समुदायले उनीहरुको कुलदेवता दिना–भद्री बाबालाई राष्ट्रिय विभूति घोषणाको माग गरेका छन् । बुढीगंगा गाउँपालिका २ स्थित बगवान टोलमा भेला भएर कुलदेवता दिना–भद्री बाबाको पूजाआजा गर्दै उनीहरुले राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेका हुन् । 

कलश यात्रासहित विभिन्न टोलका ऋषिदेव (मुसहर) समुदायका महिला र पुरुषले तीन दिनअघि गाउँ परिक्रमा गरेका थिए । सो क्रममा उनीहरुले जीवनभर अन्यायविरुद्ध लडेर आफूहरुलाई मुक्ति दिलाउने दिना–भद्री बाबालाई सरकारले विभूति घोषणा नगरेर उपेक्षा गरेको आरोप लगाए । 

बाबा निर्धन र निमुखा दलित समुदायको भएकाले विभूति घोषणा गर्न सरकारले बेवास्ता गरेको उनीहरुको बुझाई छ । मोरङको कटहरी र बुढीगंगामा ऋषिदेव समुदायको बाक्लो बसोबास छ । 

स्नानपछि नयाँ लुगामा शीरमा माटोको घडा बोकेर गाउँ परिक्रमा गरेका उनीहरुले दिना–भद्री बाबाको फोटो हातमा बोकेर बाजा बजाउँदै नाचगानसमेत गरेका थिए । अन्य टोलमा रहेका ऋषिदेवहरुले पनि दिना–भद्रीको मन्दिरमा पूजा गरेर उत्सव मनाएको अगुवा युवा गुरुशरण सदाले बताए ।

दिना–भद्री दाजुभाइलाई ऋषिदेव समुदायले अन्यायबाट मुक्ति दिलाउने बाबा (मुख्य भगवान) को रुपमा पूज्दै आएका छन । मधेश प्रदेशको सप्तरीमा १४ औं शताब्दीतिर जन्मिएका बलशाली दिना–भद्री दाजुभाइले त्यो बेलामा ऋषिदेवहरु माथि अन्याय अत्याचार गर्ने जमिन्दारहरुको सफाया गरेर समुदायलाई मुक्ति दिलाएको जनविश्वास छ ।

टिप्पणीहरू