गणितले भन्छ, सुहाङ सेफ जोनमा

गणितले भन्छ, सुहाङ सेफ जोनमा

इलाम क्षेत्र नं. २ मा वैशाख १५ गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका कारण यतिखेर देशभरिको ध्यान इलामले खिचेको छ । ठूला दलदेखि स्वतन्त्रसम्मले आफ्नो बलियो उपस्थिति देखाएर आगामी निर्वाचनमा शक्ति या बढ्दो जनमत देखाउने अवसरको रूपमा यो निर्वाचनलाई लिइरहेका छन् ।    

वैशाख २४ गते १२  दलका र  ८ जना स्वतन्त्रसहित २० जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्् । चुनावी मैदानमा २० जना रहे पनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिन्छ । पहिचानवादीको उम्मेदवार डकेन्द्रसिंह थेगिम र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले सम्मानजनक मत पाउने देखिन्छ ।     एमालेबाट ३२ वर्षीय युवा उम्मेदवार सुहाङ नेम्वाङ उठेका छन् ।

उनी संविधानसभा अध्यक्ष एवं इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङका छोरा हुन् । कानुनका विद्यार्थी सुहाङको राजनीतिमा प्रवेशसँगै उनले चुनावी मैदानमा डेब्यु गरेका छन्् । यता, कांग्रेसले भने ४८ वर्षीय डम्बर खड्कालाई पुनः उठाएको छ । उनी पेशाले ठेकेदार हुन् भने कांग्रेसको जिल्ला सभापति पनि हुन् । उनी योसँग तेस्रो पटक चुनावी मैदानमा छन् । २०७९ को निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित बनेका खड्का यस पटक छोरासँग प्रतिस्पर्धा गर्दै छन् । 

चुनावका फरक २ परिदृश्य

इलाममा पहिलो पटक पहिचान पक्षधरको तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन् । उनी फाकफोकथुम गाउँपालिका–३ निवासी भए पनि किरात धर्मगुरु आत्मनन्द लिङ्देनका निकट हुन् । आत्मनन्दनिकट किरात धर्मावलम्बीको बाक्लो उपस्थिति माङसेबु गाउँपालिकामा रहेकाले त्यहाँबाट उनलाई राम्रै मत आउने अनुमान गरिएको छ । यसअघिको चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले त्यहाँको मत पाउँदै आएको थियो । विगतमा एमालेलाई समर्थन गर्दै आएका र पहिचानवादीको तारोसमेत एमाले भएकाले पहिचान पक्षधरका उम्मेदवार थेगिमले एमालेको बढी मत लिन सक्ने अनुमान गरिएको छ । हुन त कांग्रेसका असन्तुष्ट जनजाति मतदाताले पनि थेगिमलाई मत हाल्ने सम्भावना उत्तिकै छ । पहिचान पक्षधरले हिजोको पहिलो एमाले र दोस्रो कांग्रेसको मत कसको बढी तान्न सक्छ त्यसले थेगिमले नजिते पनि एमाले र कांग्रेसको हारजीत या मतान्तरलाई असर पार्ने देखिन्छ ।     

अर्को भनेको यसअघिको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रभाव खासै थिएन । २०७९ को निर्वाचनमा रास्वपाबाट रमेश सापकोटा उम्मेदवार थिए । उनले १३ सय ८० मत ल्याए । तर यता समानुपातिक तर्फ रास्वपाले ४६ सय ८६ मत पाएको थियो । उम्मेदवारी दर्ता गराएर मत माग्न साखै नखटिएका सापकोटाले उक्त मत ल्याइरहँदा यसपटक भने रास्वपाले माओवादीबाट राजीनामा दिएर पहिचान पक्षधर उम्मेदवार बन्न खोजेका मिलन लिम्बूलाई उठाएको छ । रास्वपाले विगतको जसरी चुपचाप चुनाव लडिरहेको छैन । अत्यन्तै आक्रामक रुपमा भिडिरहेको छ । विगतको भन्दा यसपटक मत बढाउने देखिन्छ । रास्वपाले एमालेभन्दा पनि कांग्रेसको मत बढी काट्ने अनुमान गरिएको छ । जिल्लामा तुलनात्मक रुपमा लोकप्रिय रहेका कांग्रेसका भेषराज आचार्यले टिकट नपाएपछि असन्तुष्ट कांग्रेसको मत रास्वपाको घण्टीमा झर्ने पक्का छ । एमालेको समेत केही मत घण्टीमा जाने भएकाले घण्टी आफैँले नजिते पनि एमाले र कांग्रेसको जितमा असर पार्ने देखिन्छ । 

विगतको गणितले सुहाङ सेफ जोनमा    

एक वर्षअघिको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने एमालेका उम्मेदवार सुहाङ नेम्वाङ सेफ जोनमा देखिन्छन् । गएको निर्वाचनमा सुवासले ३० हजार २० मत ल्याएका थिए । कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत पाए । कांग्रेसका खड्काले उक्त मत ल्याइरहँदा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समेत साथ थियो । माओवादीको समानुपातिकतर्फ ५१ सय ५३ मत आएको थियो भने एकीकृत समाजवादीको ५८६ मत आएको थियो । यो माओवादीको मतसमेत कांग्रेसका खड्काले पाएका थिए । अहिले चुनावी गठबन्धन फेरिएको छ ।  त्यो मत यसपटक खड्कालाई जाँदैन । माओवादीको मत पनि एमालेका सुहाङले पाउने देखिन्छ । यति मात्र होइन, पहिलो पल्ट नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले समेत सुहाङलाई सघाउने भएको छ । 

सेलिब्रिटी सुहाङ

२५ वर्षसम्म निरन्तर निर्वाचन जितेका सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि हुन लागेको उपनिर्वाचनमा नेम्वाङको लोकप्रियताका कारण छोरा सुहाङसमेत परिचित छन् । सरल स्वभाव र आकर्षक व्यक्तित्वका कारण सुहाङ सेलिब्रिटी बनेका छन् । उनी जहाँजहाँ पुग्छन् त्यहाँ फोटो खिचाउनेको भीड नै लाग्ने गरेको छ । अझ युवा युवतीमा उनको क्रेज देखिन्छ । मत मागिरहेको बेला कतिपयले बाइक र गाडीसमेत रोकेर सेल्फी खिच्ने गरेका छन् । कतिपय वृद्धवृद्धासमेत उनलाई देखेर बाबुको सम्झना गर्दै भावविह्ल बन्ने गरेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू