जासुसी संयन्त्रभित्र जे जे पाक्दैछ

जासुसी संयन्त्रभित्र जे जे पाक्दैछ

मीठो, मसिनो र महंगोतिर मन लगाउनेलाई जागिरको माया पनि उस्तै हुने ! राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले सकिन लागेको जागिर एक वर्ष थप्ने गरी चलखेल थालेका छन् । 

पूर्ववर्ती सरकारका मन्त्रीहरुलाई रिझाइसकेका उनलाई अहिले अलिक अप्ठेरो भएको छ, एमालेका कानुन मन्त्री भइदिनाले । ऐन संशोधन गर्ने कुरा विभागले चाहेरमात्रै हुँदैन, त्यसमा विभागीय मन्त्रालयसहित कानुन र अर्थको प्रत्यक्ष सहभागिता हुन्छ । ती मन्त्रालय संशोधनमा सहभागी हुँदा स्वयं मन्त्री सकारात्मक हुनुपर्छ । अहिले हुतराजलाई परेको चटारो हो, कानुन र अर्थमन्त्री हातमा लिने । विभाग प्रधानमन्त्री कार्यालयमातहत भएका कारण गृहतिर गइरहनुपर्ने भएन । त्यसमध्ये अर्थमन्त्री वर्षमान पुन रोल्पाली र आफू पनि रोल्पालीसँगै माओवादीको भागमा प्रमुख भएको कारण हौसिएका छन् । ऐन संशोधनका निम्ति प्रधानमन्त्री कार्यालयका सचिव डा.गणेश पाण्डेको संयोजकत्वमा विभागका पूर्वप्रमुख दिलिप रेग्मी र स्वयं हुतराज रहेको तीन सदस्यीय समिति गठन भएको थियो ।

विद्यमान व्यवस्थाअनुसार विभाग प्रमुखको उमेरहद ५८ र कार्यकाल तीन वर्षको छ । यदि उमेरहद गुज्रिनुअघि नै कार्यकाल चार वर्षे भयो भने उनले थप एक वर्ष जागिर खान पाउँछन् । ५८ वर्षको उमेरहदलाई पनि ६० बनाउने योजना छ । त्यस्तै, एआइजीको हकमा उमेरहद ५९, कार्यकाल ५ वर्ष, डिआइजीको उमेर ५८, कार्यकाल ६ वर्ष बनाउने गरी ऐन मिलाउने धन्दा चलिरहेको छ । यससँगै एआइजी थप्न खोजिएको छ । नेपालगञ्जका कट्टर कांग्रेसी भनेर चिनिने डिआइजी प्रजेश हमाललाई बढुवा गर्न त्यस्तो गरिएको हो । उनी मधेश प्रदेशमा हुँदा रक्सी खाएको फोटो सामाजिक सञ्जालमा आएका कारण एक वर्ष नपुग्दै ‘मलाई काम गर्न सजिलो हुन्छ’ भनी तानेका थिए । 

अनुसन्धान विभागभित्र रोजेको मान्छेलाई प्रमुख बनाउनका लागि यसरी ऐन र नियमावली चलाउने चलन पहिला पनि थियो । पहिला उमेरहद तलमाथि पार्दै दिलिपलाई हटाइयो र गणेश अधिकारीलाई प्रमुख बनाइयो । अहिले हुतराजले आफ्नो कार्यकाल बढाउन चार वर्ष बनाउन चाहेका छन् । यसो गर्दा उनीहरुकै व्याचबाट तीन जना प्रमुख हुन्छन् । र, बाँकी सबै डिआइजी घर जान्छन् । यदि त्यसो भयो भने हुतराजपछि एआइजी ओम जोशी र टेकेन्द्रमध्ये एकजना प्रमुख हुन्छन् । तेस्रो व्यक्ति अहिले एआइजी हुने व्यक्ति, अर्थात् प्रजेशलाई बनाउने ध्याउन्न छ । पहिला पनि गणेश, दिलिप र यदु खरेल एउटै व्याचका थिए, जो पालैपालो प्रमुख भए । तर, चिफ बनाउन खोजिएका प्रजेशको स्नातकोत्तर छैन । दिलिप विभागको प्रमुख हुँदा एसएसपीमै बढुवा नहुनुपर्नेलाई हठात् बढुवा गरियो र अहिले डिआइजीसम्म हुन पाएका हुन् ।

अर्कातिर, हुतराजको खानपिन र मोजमस्तीको क्रम जारी नै छ । अघिल्लो शनिबार हेटौंडास्थित तालिम केन्द्रमा नयाँ भर्नाका इन्स्पेक्टरहरुको तालिम समापनमा पुग्दा ६०–७० हजारको खानपिन गरे । हेटौंडाको सबभन्दा महंगो मानिने रिगल रिसोर्टमा बसे । प्रशासनका एसपी प्रकाश आचार्य र मधेस प्रदेशका डिआइजी सञ्जय यादवसहित उनी हवाइजहाज चढेर सिमरामा ओर्लिएका थिए । बागमती प्रदेशका डिआइजीसँग त्यति राम्रो सम्बन्ध नभएका कारण अर्को प्रदेशका डिआइजी लिएर गएका हुन् । 

उनी खर्चमा तलका हाकिमलाई कतिसम्म हैरान लगाउँछन् भने, ‘रअ’ को निम्तोमा दिल्ली जाँदा त्यहाँस्थित आफ्नो इञ्चार्ज राजन उप्रेतीलाई खर्च गराए । अहिले चिनियाँ र दक्षिण कोरियाली दूतावासका मानिससँग राम्रो सम्बन्ध बनाएका छन् । तीन–चार महिनापहिले कोरियनहरुलाई बोलाउने, खुवाउने र काठमाडौंका एसएसपी विकास पाण्डेलाई बसेराको ब्रेकफास्टमा हजारौं रकम तिराएपछि अहिले विकास हुतराजको छायाँ पनि पर्दैनन् ।
 

टिप्पणीहरू