मुख्यमन्त्रीलाई पद र जनतालाई पुल

मुख्यमन्त्रीलाई पद र जनतालाई पुल

केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएदेखि प्रदेशका धेरै मुख्यमन्त्रीको निंद हराएको छ । यसपटक सबैभन्दा बढी तनाव कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई भएको छ । आफू सत्तामा गएको करिब डेढ वर्षमा पनि केही काम नगरेर आलोचनाको केन्द्र बनिरहेको बेला यसपटक प्रदेशको नेतृत्व एमालेले कुनै हालतमा पनि लिने अड्डी कसेपछि उनी अलि बढी तनावमा छन् । 

रुकुम पश्चिमबाटै प्रतिनिधित्व गर्ने शर्मा पद जोगाउन प्रदेशका पार्टी इञ्चार्ज, अध्यक्षसहित अन्य नेतालाई लिएर प्रचण्ड निवाससहित नेताको घरमा धर्ना दिइरहेका छन् । तर, उनकै जिल्लाका जनता भने एउटा सडकको पुल वर्षौंसम्म नबनेपछि विभिन्न ठाउँमा धर्नारत छन् । पिथिवाङको पुलबारे चुइँक्क एक शब्द पनि नबोलेपछि उनकै पार्टीका नेता–कार्यकर्तादेखि सरोकारवाला निकाय मुख्यमन्त्रीलगायत जिल्लास्थित सांसदप्रति आक्रोशित भएका छन् । रुकुम पश्चिम सदरमुकाममा सडक पुगेको दुई दशक हुँदा पनि पिथिवाङ पुल निर्माण हुन सकेको छैन । सडक बनेको डेढ दशकपछि पुलको योजना पर्‍यो तर निर्माणको ठेक्का परेको चार वर्षमा पनि पुल निर्माण हुन सकेको छैन । 

राप्ती लोकमार्गअन्तर्गत पर्ने यस पुल नबन्दा अहिले रुकुममा दवाब र धर्नाको काम चलिरहेको छ । समाजवादी मोर्चाको तर्फबाट सचिन रोकाले त्यसको नेतृत्व गरिरहेकका छन् । रोका नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकसमेत हुन् । संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारीबीच २०७६ असारमा ४ करोड १२ लाख बढी रकममा निर्माण सम्झौता भए पनि हालसम्म पनि निर्माण अलपत्र अवस्थामा छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू