परिवर्तन खोज्ने युवाको त्यो देशबाट हामीले के सिक्ने ?

परिवर्तन खोज्ने युवाको त्यो देशबाट हामीले के सिक्ने ?

मार्च २४ को दिन सिनेगलमा राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनबाट ४४ वर्षीय पूर्व ट्याक्स अफिसर बासिरु डियोमाए फेले विजयी भएका छन् । अफ्रिकाभरिकै हालसम्मको सबैभन्दा कान्छो निर्वाचित राष्ट्रप्रमुख भएकाले के रहेछ भनी जान्ने उत्सुकता जाग्ने नै भयो । युट्युबमा केही भिडियो हेर्दै थिएँ, अप्रत्यासित रूपमा एक अभिभावक मसँग बोल्न खोजेजस्तो लागेर बाहिर निस्कें । इस्टर छुट्टीमा के गर्ने विचार छ भनेर सोधिन् । म भर्खर बार्सिलोना पुगेर आएको, घरमै बस्छु होला भनेँ । उनले हामी त घर जाने भनिन् । कहाँ हो र ? भनेको त सिनेगल रे ! मैले उनलाई भित्र अफिसमा बोलाएर हेर्दै गरेको कार्यक्रम देखाएँ । उनीहरू फ्रान्स पुगी भोट हालेर फर्केका रहेछन् । आफूले मत हालेको व्यक्ति जितेपछि खुशी नहुने कुरै भएन । मैले सिनेगलबारे लेख्ने विचार गरेको छु भनेपछि खुब खुशी हुँदै मलाई पनि पढ्न देऊ न है भनिन् । मैले इमेल मागिहालेँ । कस्तो सन्जोग, उसको पहिलो नाम अनिता रहेछ । यो त हामी नेपालीको प्रचलित नाम हो भनेपछि थप खुशी भइन् । 

उनले करिब सात मीनेटमा सुनाएका प्रसंग उल्लेख गर्दै सिनेगलबारे थप विषय उठान गर्नेछु । सिनेगल प्राकृतिक स्रोत साधनले भरिएको देश हो । यहाँ पेट्रोलियम मात्र हैन सुन, खनिज र अनाज पनि प्रशस्त पाइन्छ । अरबमा पेट्रोल मात्र छ तर यहाँको सुनखानीलाई भरपुर प्रयोग गर्ने हो भने नागरिकले सुनकै लुगा लगाउन सक्छन् । विश्वका धेरै देशमा बेचिने सुन सिनेगाली हुन् । फ्रान्सबाट स्वतन्त्र भए पनि अहिलेसम्म त्यहाँ उसकै दबदबा छ । त्यहाँको मुद्रामा पनि फ्रान्सको वर्चस्व छ । युवाको बहुसंख्या रहेको र केही गराैँ भन्ने हुटहुटी भएको कारण अबको केही वर्ष सिनेगलको इतिहास स्वर्णिम सावित हुनेछ । हुन त त्यहाँ फेब्रुअरी २५ मा निर्वाचन हुनुपर्ने थियो ।

तर, जनता परिवर्तनको पक्षमा रहेको र आफ्नो शक्ति नाश हुने देखेर वर्तमान राष्ट्रपति म्याकी सालले अन्य निहुँ पारी यसलाई रोक्न खोजे । त्यहाँको संसदले पनि राष्ट्रपतिको यो चाहनालाई समर्थन गर्दै डिसेम्बर १५ मा नयाँ निर्वाचनको मिति घोषणा गरेको थियो । तर, त्यसबेला पनि हुने कुनै ग्यारेन्टी नभएको र यसले प्रजातन्त्रमाथि नै धावा बोल्ने भन्दै विपक्षीहरू अदालत पुगे । त्यहाँको संवैधानिक अदालतले यही फेब्रुअरी १५ मा सकेसम्म छिटो निर्वाचन गर्न आदेश दियो । सोहीअनुसार मार्च २४ मा निर्वाचन भएको हो । अहिले जितेका नेता र उनको पार्टीका अध्यक्ष उस्मान सिन्को मार्च १४ मा मात्र काराबासबाट छुटेका थिए ।

सिनेगललाई अफ्रिकाकै सबैभन्दा शान्त, सुखी र स्थायित्व भएको देश मानिन्छ । त्यहाँ अहिलेसम्म सेना वा अरू कसैले बल प्रयोग गरेर सत्ता हत्याएको छैन । फ्रान्सबाट स्वतन्त्र भएको सन् १९६० देखि हालसम्म चार जनाले मात्र राष्ट्रपतिको रूपमा शासन गरेका छन्् । दिवंगत नभएका पूर्वराष्ट्रपतिहरू अहिले पनि राजनीतिमा सक्रिय छन् । निर्वाचनमा हार भएपछि मात्र सत्ता छाडेका हुन्् । वर्तमान राष्ट्रपतिले भने निर्वाचनमा भाग लिएका थिएनन् । 

यस अवधिमा १७ जना प्रधानमन्त्री बनेमध्ये दुई जना पछि राष्ट्रपति पनि बनेका थिए । तीन पटक गरी १६ वर्ष त प्रधानमन्त्रीको पदसमेत हटाइएको थियो । सन् २०२२ देखि बल्ल प्रधानमन्त्री नियुक्त गर्न थलिएको हो । अहिलेसम्म यहाँ दुई जना महिला प्रधानमन्त्री भएका छन् । 

केही समयदेखि यहाँको राजनीतिक क्रियाकलापबाट जनता दिक्क भइसकेका थिए । भ्रष्टाचार र अनियमितताको कारण युवामा नैराश्यता बढिरहेको थियो । यहाँ कूल जनसंख्याको करिब ७५ प्रतिशत नागरिक ३५ वर्षभन्दा कम उमेरका छन् । बेरोजगारीको संख्या २० प्रतिशतभन्दा माथि पुगेको छ भने गरिबीको रेखामुनि करिब ४० प्रतिशत छन् । यिनै समस्या समाधान गर्न लामो समयदेखि शासन गरिरहेका शासकलाई हटाउनुपर्छ भनेर सन् २०१४ मा ओस्मान सुन्कोले द अफ्रिकन प्याट्रिओट्स सिनेगल अफ वर्क इथिक्स एण्ड फ्याटरनिटी भन्ने पार्टी स्थापना गरेका थिए ।

फे र सुन्कोको भेट दुवै जना कर कार्यालयमा कार्यरत रहँदा भएको थियो । सरकारी अनिमियतता तथा अन्य आर्थिक हिनामिनाका फाइल खोल्ने क्रममा उनीहरूले भ्रष्टाचारको जरा काट्नका लागि नयाँ पार्टीमार्फत युवालाई आह्वान गरेका थिए । सुन्को राष्ट्रिय रूपमै परिचित हुँदै गए । सन् २०१९ को निर्वाचनमा उम्मेदवारी दिएका उनी १५.६७ मत प्राप्त गरेर ६ जनामध्ये तेस्रो । त्यसपछि उनी झन् सक्रिय भए । सन् २०२२ को आमनिर्वाचनमा १६५ कुल सिट भएको सदनका ५६ सिट ल्याएर जबर्जस्त विपक्षी बन्न सफल भए । पहिलो हुने अलायन्स फर रिपब्लिकले ८२ सिट ल्याएको थियो भने पूर्वराष्ट्रपति वादेको पार्टीले २४ सिट ल्याएर तेस्रो भएको थियो । 

राष्ट्रपति उम्मेदवारका लागि सात प्रदेशबाट कम्तीमा दुई हजारसहित ०.८ देखि १ प्रतिशतसम्म मतदाताको हस्ताक्षर अथवा १३ जना सांसद, १२० जना मेयर वा क्षेत्र प्रमुखहरूको हस्ताक्षर हुनुपर्ने संवैधानिक प्रावधान छ । यसअलावा ३० मिलियन स्थानीय मुद्रा (करिब ६५ लाख नेपाली रूपैयाँ) शुल्क बुझाउनुपर्छ । यसबीच सोन्कुलगायत दुई पूर्वप्रधानमन्त्री अनि राष्ट्रपतिको आडमा फेसहित केही उम्मेदवारको निवेदन खारेजी भयो । यो विषयले थप तनाव शुरु भयो । यसैलाई आधार बनाएर राष्ट्रपतिले संवैधानिक परिषद्का दुई जना न्यायाधीशमाथि जाँचबुझ गरिने भन्दै ३ फेब्रुअरीमा अनिश्चितकालका लागि निर्वाचन स्थगन गरिदिए । सरकारले टिभी, इन्टरनेट, मोबाइलसम्म बन्द गर्‍यो ।

तर, विरोधको क्रम भने झन् बढ्न थाल्यो । तीन युवाले ज्यान गुमाउनुपर्‍यो । युरोपियन युनियन, अमेरिकी सिनेट, वेस्ट अफ्रिकी संगठनलगायत मानवअधिकार संगठनले यो समस्या छिटो समाधान गर्नुपर्ने भन्दै दबाब दिए । अदालतले यो निर्णयलाई बदर गर्दै सकेसम्म छिटो निर्वाचन गर्न आदेश दियो । मार्च ६ मा राष्ट्रपतिले सिद्दिकी काबालाई प्रधानमन्त्री नियुक्त गरेर चुनावमा केन्द्रित हुन सझाव दिए । मार्च ९ देखि २२ सम्म प्रचारप्रसार गर्न पाउने गरी २४ मार्चमा निर्वाचन घोषणा भयो । आममाफीको कानुनअनुसार सोन्को र फेलाइ १४ मार्चमा जेलमुक्त भए । थोरै दिनमा प्रभावकारी ढंगले चुनाव प्रचारमा लागे । फेका दुई श्रीमती पनि यो अभियानमा निकै सक्रियसँग खटे । देशको विकार बढार्न आफू उम्मेदवार भएको सांकेतिक जानकारीस्वरुप उनले कुचो लिएर प्रचार गरेका थिए । 

गाम्बिया, गिनी–बिसाउ, माली, मौरिटानिया र एटलान्टिक महासागरले घेरिएको सिनेगलको नाम त्यहाँको स्थानीय वोलोफ भाषा ‘सुनु गाल’ बाट उत्पन्न भएको मानिन्छ जसको अर्थ ‘हाम्रो डुंगा’ हो । सडक, समुद्री तथा हवाई यातायातको कारण यस देशलाई अफ्रिकाको प्रवेशद्वार पनि मानिन्छ । हाल अनुमानित १ करोड ८५ लाख जनसंख्या रहेको यो क्षेत्र वोलोफ, फुलानी र मालिनकेलगायत विभिन्न जातीय समूहको साझा देश हो । 

देशको भूगोल त्यहाँका मानिस जत्तिकै विविधतापूर्ण छ । जसमा सुख्खा मरुभूमिदेखि हराभरा उष्णकटिबन्धीय क्षेत्रसम्मका सबै चिज छन् । समृद्ध इतिहास, सांस्कृतिक विरासत, भौगोलिक विशेषता, मोडेल डेमोक्रेसी, सात युनेस्को साइटले सिनेगललाई संसारसामु पृथक् परिचय दिन सफल भएको छ । यिनै विविधता महसुस गर्न बर्सेनि लाखाैँ पर्यटक आउने गर्छन् । गोरी टापु अफ्रिकी तटमा सबैभन्दा ठूलो दास–व्यापार केन्द्र थियो । समुद्रको पानीमा हुनुपर्ने भन्दा १० गुणा बढी नुनको कारण गुलाबी रंगको देखिने लेक रोज अर्थात् लेक रेट्बा पनि यहाँ अवस्थित छ । यहाँ एउटा बिचित्रको गाउँ छ । जहाँका घर, बाटो, कब्रिस्तान सबै एक प्रकारको संख्य किरा क्ल्यामको सेलबाट मात्र निर्माण गरिएका छन् । त्यहाँ कुनै प्रकारको सवारी साधन चलाउन निषेध छ । 

यहाँका नागरिक आदर सत्कारमा अति नै सुसंस्कृत र सभ्य मानिन्छन् । पाहुनालाई मात्र हैन आफूभन्दा ठूलाबडालाई सम्मान र सानालाई स्याहार गर्ने चलन छ । सन् २०१२ मा सेनेगलले ग्रेट ग्रिन वाल अर्थात् रूखको पर्खाल रोप्न शुरु गरेको थियो । जुन ७, ००० किलोमीटर लामो र १६ किलोमीटर चौडा रूखहरूको पर्खाल हो । यो अटलान्टिक महासागरदेखि हिन्द महासागरसम्म फैलिएको छ ।

तेल, ग्यास र खनिजको अलावा यहाँको बदाम संसारभर प्रसिद्ध छ । माछा उत्पादन पनि आय स्रोतको अर्को भरपर्दो स्रोत हो । बेलाबखत माछा मार्ने माझीलाई सामुद्रिक हिप्पोपोटामसले आक्रमण गरी मार्ने गर्छ । प्रत्यक्ष रूपमा करिब ५३ हजार र परोक्ष रूपमा झण्डै पाँच लाख मानिसलाई रोजगारी दिने यो व्यवसायले देशको वार्षिक जिडिपीमा ३ प्रतिशतजति योगदान पुर्‍याउँछ । अमेरिकामा मात्र यसले करिब ३५३ मिलियन डलर बराबरको माछा निर्यात गर्दछ । गीत, संगीत र फिल्म निर्माणमा पनि सेनेगलले उल्लेख्य भूमिका निर्वाह गरेको छ । आकन, बाबा माल, युनुस, भिभियांस थिओनेजस्ता कलाकारले संसार प्रसिद्धि पाएका छन् ।

यसपटक स्वतन्त्र रूपमा उम्मेदवारी दिने नेतालाई जनताले पहिलो चरणमै ५३.८९ प्रतिशत मत दिएर विजयी गराए । भ्रष्टाचार र सुशासन, आर्थिक सुधार, स्थिरता, पुनःस्थापना, युवा बेरोजगारी, स्वास्थ्य सेवा र शिक्षा, अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्ध, संस्थागत सुदृढीकरण अहिले त्यहाँ देखिएका चुनौती हुन् । आफ्नो छुट्टै मुद्रा सञ्चालन गर्ने, पेट्रोल निर्यात हुने देशसँग नयाँ ढंगले सम्झौता गर्ने, रोजगारी दिलाउनेजस्ता चुनावी नारा कसरी सम्बोधन गर्ने हो त्यो भने ‘दाओमाय भनेको नै ओस्मान’ हो भनेर विजय हासिल गरेका यी दुई नेताबीचको सम्बन्धले नै निर्धारण गर्नेछ । सिनेगलको राजनीतिबाट नेपालीले सकारात्मक वा नकारात्मक के–कस्तो शिक्षा लिन सक्लान्, त्यो भने भविष्यलाई नै जिम्मा दिनु पर्नेछ । 
 

टिप्पणीहरू