डाँडामा बसेर राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तन

डाँडामा बसेर राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तन

उत्तरतर्फ चीन, दक्षिण, पश्चिम र पूर्वतर्फ भारतजस्तो ठूलो मुलुकले घेरिएको नेपालले आफ्नो अस्तित्वरक्षा कसरी गर्नुपर्छ भन्नेबारे राजधानीको उत्तरी डाँडामा लामो र आवासीय छलफल भएको छ ।

१६ दिने सो छलफलको आयोजना नेपाली सेनाले गरेको हो । राष्ट्रिय सुरक्षामा के कुराले प्रभाव पार्न सक्छ ? कुनै विदेशी आएर केही कुरा गरे भने हावाका भरमा नेताहरूले ल ल भन्दै समर्थन जनाउने, कर्मचारीले भने विदेश घुम्ने लोभमा सबै गोप्य कुरा छताछुल्ल पार्ने कुराले राष्ट्रिय सुरक्षामा थ्रेट पैदा हुने विषय त्यसक्रममा उठेको थियो ।

गोष्ठीमा पश्चिमा देशले नेपालको सुरक्षामा कत्तिको प्रभाव पार्छन्, तिनीहरूका मुख्य चासो के–के हुन् ? यी टपिकमा पनि विज्ञहरूले एमसिसी किन अघि सारियो ? त्यसको काउन्टरमा चीनले किन बिआरआई ल्यायो ? भारतले कोरिडरको कुरा कुन एङ्गलबाट अघि सार्‍यो भन्नेजस्ता विषयमा गहन कुरा राखेको सहभागी स्रोतले बताएको छ । खुला बोर्डर, सीमा अतिक्रमण, क्रिश्चियानिटीमा भएको बढोत्तरी, ४२ हजार चर्च र धर्मपरिवर्तनको संख्यामा व्यापक वृद्धिबाट त्यहाँ चिन्ता पनि व्यक्त गरिएको थियो ।

गोष्ठीमा पर्यावरणीय विषयमा दुवै छिमेकी मुलुकको संवेदनशील भएको, दक्षिणमा भएको औद्योगिक विकासका कारण नेपाललाई हिमाली क्षेत्रको जलवायुमा व्यापक असर गरेको, अत्यधिक कार्बन उत्सर्जनका कारण हिमाली जलवायुमा नकारात्मक प्रभाव परेकोबारे गहन छफफल भएको छ ।

हिउँ पग्लने क्रम बढ्नु, पहाडी भेगमा चिस्यान माटोको ओस कम हुँदै जाँदा कृषि तथा फलफूल उत्पादन ह्रासोन्मुख अवस्थामा देखिनु र खोलानाला सुक्दै जानु, हिमनदी र तालहरू सुक्नु, ब्रह्मपुत्र नदीलाई चीनले डाइभर्ट गर्दा भारतका शहरी क्षेत्र संकटमा पर्नेलगायत विषय पनि छलफलमा आएका थिए ।

विकासका नाममा भएको डोजर आतंकले निम्त्याएको समस्याबारे पनि छलफल भएको टोखामा सम्पन्न सो गोष्ठीमा दुवैथरी प्रहरी, गुप्तचर संविधानविद् र निजामती सेवाअन्तर्गत परराष्ट्र, गृह, अर्थ, विपद् व्यवस्थापन, स्वास्थ्य, वातावरण, पशु र पत्रकारसहित २९ जना सहभागी थिए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू