यताका माछा पोखरीमा, पारिका बजारमा

यताका माछा पोखरीमा, पारिका बजारमा

-प्रतिक पौडेल

रुपन्देहीमा माछाको तस्करी मौलाएको छ । छिमेकी भारतमा माछा सस्तो भएपछि तस्करहरुले अवैध माध्यमबाट माछा ल्याउन थालेका हुन् । बजारमा छ्याप्छ्याप्ती भारतीय माछा पाउन थालेपछि नेपाली माछा व्यवसायी मर्कामा परेका छन् । माछा उत्पादनको हब बनेको रुपन्देहीमा भारतीय माछा भित्रिँदा किसानले आफ्नो उत्पादनको मूल्यसमेत पाउन नसकेको बताइन्छ ।

जिल्लामा अवैध माछाको बिगबिगीको ठूलो उदाहरण प्रहरीले नियन्त्रणमा लिएको दुई हजार किलोको बैखी जातको माछा बनेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले केही समयअघि बुटवल बजारमा दुई हजार किलो माछा बरामद गरेको थियो । हाटबजार लाइनमा शंकास्पद अवस्थामा रोकिराखेको लु २ च ३३२९ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा माछा फेला परेको हो । 

रुपन्देही हुँदै पोखरा, काठमाडौंसम्म ती माछा पुगिरहेका छन् । खुल्ला सीमाको दुरुपयोग गरेर माछा भित्र्याउने गरिएको छ । पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीका अनुसार चालू आर्थिक वर्षमा अवैध तरिकाले ल्याइएका छ हजार तीन सय ९५ किलो माछा नष्ट गरिएको छ । पशु क्वारेन्टाइन कार्यालय, बेलहिया चेकपोष्टका प्रमुख पशु अधिकृत सन्तोष यादवले गत माघमा मात्रै रुपन्देहीमा दुई हजार सात सय किलो माछा नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए । 

रुपन्देहीको मर्चबार र लुम्बिनी क्षेत्रमा माछा तस्करहरु सक्रिय रहेको उल्लेख गर्दै स्रोत भन्छ, ‘तस्करहरुले प्रयोग गर्ने मार्गमा आधा दर्जनभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट छ । तर, माछा ओसारपसार गर्नेमाथि चेकजाँच हुँदैन । यस कार्यमा पाँच जना संलग्न छन् । सात वटा मोटरसाइकलमा उनीहरुले माछा ओसारपसार गर्दै आएका छन् ।’ उक्त कार्यमा स्थानीय रामशैलेश पासी, ललेश पासी, फौदार केवट, मज्नु मल्लाह र शैलेस गुप्तालगायतको हात रहेको बताइन्छ ।

उनीहरुबाट मासिक असुली गरेर सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुले छोडिदिने गरेको जगाहेर छ । रुपन्देहीका बेथरी, मझगावा, मर्यादापुर, खजुरिया, दुर्गौलिया, सूर्यपुरा, लुम्बिनी, अमवाको प्रहरी र मझगावाको सशस्त्र प्रहरी बलसँगको मिलेमतोको अवैधधन्दा चलेको हो । तर तस्करी नियन्त्रणका लागि गरिएको प्रयासकै कारण धेरै अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको यादवको दाबी छ । 

पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीमा बरामदपछि नष्ट गरिएका माछा सीमा नाका अथवा नाकानजिकै नभएर अधिकांश बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । यसबाट सीमा नाका हुँदै माछा बजारसम्म प्रवेश गराइएकामध्ये केही माछा मात्रै नियन्त्रणमा लिइएको आशंका छ । सीमा क्षेत्रका स्थानीय तहमा तैनाथ सुरक्षाकर्मीको कमजोरीका कारण माछा बजारसम्म पुगेको हुनसक्ने मत्स्य व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष दिवाकर भुसाल बताउँछन् । 

स्रोतले पनि सीमामै कमजोरी भएको संकेत गरेको छ । भारतबाट नेपाल माछा ल्याउनको लागि धेरै झन्झटिलो प्रक्रिया रहेको पशु अधिकृत यादव सुनाउँछन् । सोहीकारण माछा मूल नाकाबाट थोरै मात्रामा भित्रिने गरेको हो । चालु आर्थिक वर्षको हालसम्म जम्मा १६ मेट्रिक टन मात्र माछा बेलहिया भन्सार हुँदै भित्रिएको उनले जानकारी दिए । झन्झटिलो प्रक्रियाका कारण अवैध बाटोबाट माछा नेपाल ल्याउने गरिएको हो ।

भन्सार प्रक्रिया छल्नकै लागि तस्करहरुले मर्चवार र लुम्बिनीको सीमा क्षेत्र प्रयोग गरेको पाइन्छ । त्यसपछि भैरहवा र बुटवल बजारबाट संकलन गरेर काठमाडौं र पोखरासम्म ती माछा पुर्याइन्छ । माछा तस्करीमा सुरक्षाकर्मीको कमजोरी एउटा पक्ष छ भने अर्को पक्ष झनै विकराल छ । नेपालभित्र माछा ढुवानीका लागि माछा खरिद गरेको बिल र मान्यताप्राप्त पशु चिकित्सकको सिफारिस चाहिन्छ । खरिद बिल माछापालन गर्ने फर्महरुको बनाइन्छ भने मान्यताप्राप्त पशु चिकित्सकको सिफारिस भने नेपाल भेटेरिनरी काउन्सिलबाट लाइसेन्स प्राप्त जोसुकै पशु चिकित्सकले दिएको प्रमाणपत्र हुने गरेको छ । 

माछापालन फर्मले बिल र पशु चिकित्सकले स्वास्थ्य प्रमाणपत्रको दुरुपयोग गरेको कारण समस्या विकराल भएको भुसालको ठहर छ । उनी भन्छन्, ‘सरकारी निकायले मात्र सबै कुराको परीक्षण गरी स्वास्थ्य प्रमाणपत्र दिन मिल्ने व्यवस्था अनिवार्य गरे यो समस्या ५० प्रतिशत समाधान हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चोरी तस्करी नियन्त्रणका लागि २४ सै घण्टा प्रयास भइरहेको दाबी गरेको छ । खुला सीमानाका कारण प्रहरीलाई तस्करी नियन्त्रण चुनौतीपूर्ण भएको प्रहरीको भनाइ छ । विभिन्न सूचनाका आधारमा तस्कर पक्राउ परेको तर सेटिङमा तस्करी भएको आरोप निराधार भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू