पत्रकारलाई एसपीको धम्की, चार संगठनले जनाए आपत्ति

पत्रकारलाई एसपीको धम्की, चार संगठनले जनाए आपत्ति

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई धम्काएका छन् । सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक उनलाई समाचार प्रकाशनको विषयलाई लिएर धम्काएपछि प्रेससम्बद्ध विभिन्न संघसंगठनले आपत्ति जनाएका हुन् । 

उनले समाचार रोक्न आग्रह गर्दै धम्काएको बताइएको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघ, बाँकेले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर निन्दा गरेको छ । 

‘आफूसँग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्काएका छन् । कानुन कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको हामी कडा शब्दमा भत्र्सना गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ । 

समाचारको विषयमा कुनै गुनासो भए कानुनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्काउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको संगठनको ठहर छ । त्यस्तै, पत्रकार धम्काउने एसपी बोहरालाई तत्काल कारबाही गर्न स्थानीय प्रशासन एवम् सरकारसँग जोडदार माग गर्दै संगठनले बेवास्ता गरेमा कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

टिप्पणीहरू