नेताको यौन शोषणमा परेकी युवतीको करुण क्रन्दन-मेरो मृत्युको जिम्मा कसले लिन्छ ?

नेताको यौन शोषणमा परेकी युवतीको करुण क्रन्दन-मेरो मृत्युको जिम्मा कसले लिन्छ ?

कम्युनिष्ट पार्टीमा सांस्कृतिक विचलनलाई गम्भीर अपराध मानिन्छ । सांस्कृतिक विचलनको आरोप लागेका कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताले कुनै समय कडा कारवाही भोग्नुपर्थ्यो । तर,देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले)माथि विभिन्न काण्डमा मुछिएका युवा नेतालाई 'सुनपानी छर्केर चोख्याएको' आरोप लागेको छ । 

अर्काकी श्रीमतीसँग अवैध सम्बन्ध गाँसेको आरोप लागेका युवा संघका इञ्चार्ज तथा पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध पार्टी कार्यालय च्यासलमा लिखित उजुरी परे पनि अनुशासन उल्लङ्घनको विषय बनेन । संगिन आरोप लागेका बस्नेतमाथि सामान्य छानविनसमेत नगरेको एमालेले केटी काण्डमा मुछिएका अखिलका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य ऐन महरमाथिको निलम्बन फुकुवा गरेपछि पार्टीपंक्तिबाटै अनेक प्रश्न उठिरहेका छन् । 

घरमा श्रीमती हुँदाहुँदै बाहिर युवतीसँग अवैध सम्बन्ध राखेको उजुरी परेपछि एमालेले महरलाई राजीनामा दिन लगाएको थियो । तर,आरोप यथावत रहेकै अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको एकल निर्देशनमा उनलाई उन्मुक्ति दिइएको हो । 

बैशाख १५  को उपचुनावलाई हेरेर बझाङ गृहजिल्ला भएका महरले अध्यक्षको एकल आदेशमा 'क्लिनचिट' पाइरहँदा पीडित भनिएकी युवतीले भने रुवाबासी गर्दै प्रधानमन्त्री र गृहमन्त्री गुहारेकी छन् । महरले आफ्नो जिन्दगी बर्बाद पारिदिएको भन्दै उनले सार्वजनिक गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । 

'आफूलाई चाहेको बेला फोन गर्छ, सम्झिन्छ । बालकोट गएर केपी ओली बाको खुट्टा ढोगेको हो । एउटा केटी मान्छेको भविष्य बिगारेर के राजनीति गर्छौ ? कसका लागि गर्छौ ?',

आफ्नो पीडा सुनिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई गुहारेकी उनले रुँदैरुँदै भनेकी छन्, 'आफै मोबाइल अपहरण गरेका छौ । जथाभावी लेख्ने आफै । अनि मलाई फसाउन खोज्ने ? ए ! गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न । ए ! प्रधानमन्त्री । कानुनमा गएको,पुलिसले फर्काउँछ । वकिलले अदालतबाट फर्काउँछ । म कहाँ जाउँ ? योभन्दा कहाँ जाने ? प्रहरीले माथिको आदेश भनेर फर्काइदियो । हाम्रो केस दर्ता गर्दैन, हेर्दैन । कानुनको बाटो कहाँ हो ?

सामाजिक सञ्जालमा सार्वजनिक भएको १० मीनेट लामो भिडियोमा ती युवतीले महर र अनेरास्ववियुकी नेत्री रक्षा बमको नाम लिँदै आफूलाई 'मर्नु न बाँच्नु'को अवस्थामा पुर्याएको गुनासो गरेकी छन् । आफू आत्महत्या गर्ने स्थितिमा पुगेको बताएकी उनले आफ्नो मृत्युको जिम्मा सिंगो एमाले पार्टीले लिनुपर्ने चेतावनीसमेत दिएकी छन् । 

'एमाले पार्टी कि मेरो मृत्युको जिम्मा लिनुस् कि तपाईंको नेता, कार्यकर्ताहरू सम्हाल्नुस् । मेरो जिन्दगी बर्बाद पारेको छ यो ऐन महर र रक्षा बम भन्नेले', उनले रुँदै भनेकी छन्, 'उल्टो ममाथि मुद्दा हालेर,मलाई दोषी बनाएर मेरो मुद्दालाई राज्यले हेरेकै छैन । अनुसन्धान नभइकन त्यसलाई किन छुटाएको हो ? यत्रा प्रमाण हुँदाहुँदै किन छुटाएको हो ?"

महरकै सल्लाहमा आफूले कानुनी उपचारको बाटो रोजेको बताएकी उनले अहिले अनावश्यक दु:ख दिएको बताएकी छन् । उनले आँशु झार्दै भनेकी छन्, 'कानुनमा पनि मलाई अगाडि बढ्न दिएको छैन । यत्तिका प्रमाण हुँदाहुँदै पनि । ए ! ऐन महर कहाँ गइस् तँ भन् । आफै मुद्दा हाल्न लगाउने,दुवैतिर ठिक्क हुने ?'

केपी ओलीलाई भेट्दासमेत न्याय नपाएको उनको गुनासो छ । 'आफूलाई चाहेको बेला फोन गर्छ, सम्झिन्छ । बालकोट गएर केपी ओली बाको खुट्टा ढोगेको हो । एउटा केटी मान्छेको भविष्य बिगारेर के राजनीति गर्छौ ? कसका लागि गर्छौ ?', उनको प्रश्न छ ।

टिप्पणीहरू