बदलियो जमाना, कसको भर छ र

बदलियो जमाना, कसको भर छ र

परिवारले समेत काबुमा राख्न नसकेका एक युवकले ८३ वर्षीया महिलाको हत्या गरेका छन् । २६ दिनपछि प्रहरीले संलग्न युवकलाई पक्राउ गरेको छ । फरक–फरक जिल्ला र ठेगाना भएका दुई व्यक्ति एउटै घरमा बस्दै आएका थिए । एक्लाएक्लै बस्ने क्रममा युवकले राति राति महिलाको कोठामा गएर दुःख र धम्कीसमेत दिने गरेका थिए । त्यसदिन बिहानै युवक महिलाको कोठामा प्रवेश गरे । सुतिरहेकी उनले थाहा पाउन सकिनन् । युवकले छातीमा घुँडा राखेर मुख थुनिदिए । कानमा लगाएका दुई वटा रिङ फुकाले । नाकमा भएको फुली लिएनन् । अन्य सामान पनि लगेनन् । त्यसपछि कोठामा पनि आएनन्,’ इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीले भने, ‘रिङ लुटेर बिक्री गरेका युवकले खर्च गरेको रकम, उनका दैनिक क्रियाकलापलाई समेत निगरानीमा राखेकाले पक्राउ गर्न सफल भयौं ।’

०८० फागुन १७ गते बिहान हत्या गरी भागेका युवा चैत्र १३ गते पक्राउ परेका थिए । धुलिखेल नगरपालिका वडा नम्बर ९ घर भई बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोही घरमा सुनसरी जिल्ला धरान उमहानगरपालिका–८ बस्ने घर भएका २९ वर्षीय युवक अभिषेक अचार्जुले हत्या गरेको खुलेको हो । लुटिएको रिङलाई अभिषेकले बनेपास्थित विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रूपैयाँ लिएका थिए । उक्त रकमबाट साथीहरूलाई तिर्नुपर्ने केही रकम तिरेको बयान दिएका छन् । धुलिखेल ९ घर भएकी लक्ष्मी एक वर्षदेखि बसन्त श्रेष्ठको घरको भुइँ तल्लामा भाडामा बस्दै आएकी थिइन् । सोही तलामा अभिषेक पनि बस्दै आएका थिए ।

अभिषेकका बाबुआमालगायतले बनेपामा हार्डवेयर व्यवसाय गर्दै आएका छन् । घरपरिवारले नियन्त्रणमा राख्न नसकेका उनको संगत गलत व्यक्तिसँग थियो । कुनै पेशा व्यवसाय नगरी हल्ली हिँडेका ती युवा लक्ष्मीलाई मारेर निर्धक्क हिँडिरहेका थिए । लक्ष्मीका आफन्त भए पनि एक्लै डेरामा बस्दै आएकी थिइन् । अन्य समयमा पनि लक्ष्मीसँग ती युवाले रातको समयमा पानी माग्ने, खानेकुरा माग्ने र नदिए धम्क्याउने गरेको डेरामा बसेकाहरूले प्रहरीलाई जानकारी गराएका थिए । फागुन १७ गते बिहानै लक्ष्मीलाई मारेर फरार भए पनि लक्ष्मीको शव फागुन १८ गते मात्रै फेला परेको थियो । दुई दिनसम्म लक्ष्मीलाई नदेखेको, अझ ढोकासमेत भित्रैबाट लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । लक्ष्मीलाई मारेपछि भने युवक कोठामा आउन छाडेर केही शंकास्पद गतिविधिसमेत देखाएका थिए ।

टिप्पणीहरू