गहना नेपालको,चाहना बलिउडको

गहना नेपालको,चाहना बलिउडको
सुन्नुहोस्

भारतीय कलाकारहरु नेपाल आउने क्रम बढेको छ । फिल्म छायाङ्कन गर्न होस् या विभिन्न कार्यक्रममा सहभागी हुन बलिउडका कलाकारहरु नेपाल आइरहेका हुन्छन् । प्राकृतिक सौन्दर्यता र संस्कृतिको धनी देश नेपालको विभिन्न स्थानमा बलिउडदेखि हलिउडका वृत्तचित्त र चलचित्र छायाङ्कन गरिएको छ । 

चलचित्र छायाङ्कनका लागि मुलुकमा थुप्रै उत्कृष्ट स्थान छन् । पदयात्रा,पर्वतारोहण, माउन्टेन बाइकिङ र धेरै साहसिक खेलका लागि स्वर्ग यहाँ हरे राम,हरे कृष्ण,घरवाली बाहरवाली,खुदा गवाह, लभ इन नेपाल, बेकाबुलगायत थुप्रै चलचित्रको सुटिङ्ग भएको छ । त्यस्तै, द गोल्डेन चाइल्ड,लिटिल बुद्ध,सेभेन इयर्स इन तिब्बत, एभरेष्टलगायतका हलिउड चलचित्रको छायाङ्कन नेपालको विभिन्न स्थानमा भएको पाइन्छ । 

पछिल्लोपटक नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र हो, उचाइ । चलचित्र छायाङ्कन मात्र नभई विभिन्न कार्यक्रममा सहभागी हुन पनि भारतीय अभिनेता नेपाल आइरहेका हुन्छन् । विभिन्न महोत्सवमा भारतीय कलाकारहरुलाई प्रमुख अतिथि बनाइने गरिएको छ । रौतहटको मौलापुर नगरपालिकाले गत फागुनमा आयोजना गरेको महोत्सवमा भारतका सुपरस्टार गोविन्दा आहुजाले सहभागिता जनाएका थिए । 

‘मधानी महोत्सव’ मा सहभागी हुन आएका उनलाई नगरपालिकाले पारिश्रमिकबापत ८० लाख नेपाली रुपैयाँ बुझाएको थियो । मँहगो रकम तिरेर उनलाई ल्याइएकोमा नगरपालिकाको चर्को आलोचना भएको थियो । 
केही समययता गहनाको प्रदर्शनीका लागि नेपाल आउने पर्यटकको पनि लर्को लागेको छ । सरकारी होस् या निजी क्षेत्र,आफ्नो कार्यक्रममा भारतीय कलाकारलाई महङ्गो शुल्क तिरेर ल्याउने गरिन्छ । कार्यक्रमका निम्ति भारतीय कलाकारलाई ल्याउने संस्कृतिको विकास भइरहँदा आम सर्वसाधारणदेखि नेपाली कलाकारसम्मले असन्तुष्टि जनाएका छन् । 

नेपाली कलाकारिता क्षेत्रलाई प्रवर्द्धन गर्नुको साटो भारतीय कलाकारलाई ल्याएर कार्यक्रम गरिन्छ । जसले नेपाली कलाकारभन्दा भारतीयलाई बढी प्राथमिकतामा राखेको विषयलाई लिएर बेलाबखत विवाद पनि सिर्जना हुने गरेको छ । केही वर्षअघि भारतीय सुपरस्टार सलमान खान नेपालमा आयोजना हुने सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा सहभागी हुन आउने तय भएको थियो । 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उनलाई नेपाल ल्याउन भिडियो वार्तासमेत गरेका थिए । सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । नेपाली कलाकारप्रति कहिले वास्ता नगर्ने सरकारले भारतीय कलाकार भित्र्याउन गरेको बेजोड प्रयासप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । 

सोही दिन थाई कलाकार तथा मोडल थितिसान गुडबर्न पनि नेपाल आएका थिए ।

नेपाली कलाकारहरुले सामाजिक सञ्जालमा खुलेरै सरकारको विरोध जनाएका थिए । पछि उनको कार्यक्रम नै स्थगित भयो । हालै मात्र बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा आरबी डायमण्डसले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजना गरेको हिरा तथा सुनको गहना प्रदर्शनी (ज्वेलरी शो) मा सहभागी हुन उनलाई आमन्त्रणा गरिएको थियो । 

उनीसहित आठ सदस्यीय टोली नेपाल आयो । टोलीमा सान जोसेफ मुट्टाथिल,सम्वर्धन देव राय,पायल प्रेमनाथ ओबेराय,डोमिनिक रोनाल्ड सुजा,मोहम्मद इमरान,करेन सुसान कुरियाकोसे,तरुन महन्ती थिए । उनीहरु इण्डिगो एअरलाइन्सको ६ई१३६५ उडान नम्बरबाट २९ मार्चमा आएका थिए । दरबारमार्गस्थित याक एण्ड यति होटलमा उनीसहित दुई दर्जन कलाकारले ज्वेलरी फेसन रनवेमा ‘क्वाटवाक’ गरेका थिए । 

कार्यक्रममा सहभागी भएर ज्याकलिनसहितको टोली ३१ मार्चमा नेपाल एअरलाइन्सको आरए २०१ मार्फत स्वदेश फर्किएको छ । सोही दिन थाई कलाकार तथा मोडल थितिसान गुडबर्न पनि नेपाल आएका थिए । मिस्टर इन्टरनेशनल, २०२३ जित्ने पहिलो थाई प्रतिनिधिसमेत रहेका उनी आरए ४०२ उडान नम्बरमार्फत नेपाल आएका हुन् । 

बलिउड अभिनेत्री मलाइका अरोरा अघिल्लो वर्षको पुसमा आएकी थिइन् । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गरेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा सहभागी हुन आएकी उनले नेपाली गहनामा ‘क्वाटवाक’ गरिन् । ‘बलिउड फेसन आइकन’ का रुपमा समेत चिनिने उनी छड्के तिलहरी र लेहेंगामा प्रस्तुत भएकी थिइन् । 

एकपछि अर्को गर्दै बलिउडका कलाकारहरु नेपाल आइरहेका छन् । बलिउड कलाकार नेपाल आउनु राम्रो कुरा हो । नेपाली पोशाक पहिरिएर त्यसको प्रवर्द्धन गर्नु सकारात्मक छ । तर, नेपाली कलाकारलाई छायाँमा पारेर अन्य मुलुकका कलाकारलाई प्राथमिकता दिनुचाँहि उचित नभएको जानकारहरु बताउँछन् । नेपाल रत्न तथा आभुषण संघकी पूर्वअध्यक्ष ज्योत्सना श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सामग्रीको प्रचारका निम्ति भारतीय कलाकारहरु ल्याउने गरेको बताइन् । 

भारत र नेपालको संस्कृति मिल्दोजुल्दो भएको र ती कलाकारमार्फत भारतमा पनि आफ्नो सामग्रीको बिक्री वितरण बढाउनका लागि त्यस्तो कार्यक्रम गरिने उनको भनाइ छ । ‘हामीले ग्लोबल्ली नै हाम्रो उत्पादनको प्रचार होस् भनेर उहाँहरुलाई ल्याउने हो । भारत र नेपालको ज्वेलरीहरु पनि मिल्छ । भारतीय कलाकारहरुलाई विश्वले नै चिन्छ । उहाँहरुले पहिरिनु भयो भने त अन्तर्राष्ट्रिय स्तरमै प्रचार हुन्छ’, उनले भनिन् ।

टिप्पणीहरू