महाजात्राले दुई दिनमै कमायो तीन करोड, नयाँ रेकर्ड बनाउने अनुमान

महाजात्राले दुई दिनमै कमायो तीन करोड, नयाँ रेकर्ड बनाउने अनुमान

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र 'महाजात्रा'ले दुई दिनमा तीन करोड कमाएको छ । 

पाँच महिनायता नेपाली हलहरुमा छाएको सन्नाटा तोड्दै फिल्मले आक्रमक सुरुआत गरेको हो । लेखक तथा निर्देशक प्रदिप भट्टराईका अनुसार रिलिजको पहिलो दिन (शुक्रबार) एक करोड २३ लाख कलेक्शन गरेको महाजात्राले हिजो एक करोड ८३ लाख कमाई गरेको छ । 

आज पनि देशभरका हलहरुमा ९० प्रतिशत अकुपेन्सी देखिएको उनले बताएका छन् । आज होलीको सार्वजनिक विदा परेकाले चलचित्रलाई थप फाइदा हुने देखिन्छ । 

विश्वका ४१ देशमा प्रदर्शन भइरहेको चलचित्रले नेपालमा तीन सयको हाराहारीमा शो पाएको दावी गरिएको छ । कुनै पनि नेपाली चलचित्र यति धेरै देशमा एकैसाथ रिलिज भएको यो पहिलो पटक हो । यसकारण पनि महाजात्राको कमाईले नेपाली चलचित्रको इतिहास रच्ने अनुमान गरिएको छ । 

अहिलेसम्म सर्वाधिक कमाई गर्ने चलचित्रको पहिलो नम्बरमा 'कबड्डीः दी फाइनल म्याच' छ । यसले २१ करोड कमाएको थियो । दोस्रोमा 'छक्कपञ्जा-३' र तेस्रो नम्बरमा 'जारी' छ । यी दुई चलचित्रले क्रमश:  २० करोड र १८ करोड कमाएको थियो । 

रिलिजको पहिलो र दोस्रो दिनमा उत्साहजनक कमाई गरेको 'महाजात्रा'ले यी सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । 'महाजात्रा' 'जात्रा'को तेस्रो सिक्वेल हो । 'जात्रा'ले ४ करोड र अघिल्लो दोस्रो सिक्वेल 'जात्रैजात्रा'ले ११ करोड कमाएको बताइएको थियो । 

तीनवटै चलचित्रमा कलाकारहरु विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झालगायतको अभिनय छ । महाजात्रमा हरिवंश आचार्यको पनि अभिनय छ ।  

गत कात्तिकमा रिलिज भएको चलचित्र 'दिमाग खराब'पछि कुनै पनि चलचित्रले हलमा उल्लेख्य मात्रामा दर्शक तान्न सकेका थिएनन् । त्यसयता एक दर्जन बढी चलचित्र प्रर्दशनमा आइसकेका छन् । तर, तीमध्ये दुई साताअघि रिलिज भएको 'अगस्त्यः च्याप्टर १' र साताअघि रिलिज भएको 'उपहार'ले मात्र आफ्नो लगानी उठाएको बताइन्छ । अन्य चलचित्रहरु भने फ्लपको सूचीमा दर्ज भइसकेका छन् । 

'हात्तीछाप'का निर्माताले त अन्तर्वार्तामै भनेका छन्, 'फिल्ममा फाइदा मात्र खोजेर हुँदैन । दर्शकहरुको माया नै ठूलो हो । तर, म निर्माता भएको हिसाबले लगानी सम्झदा त मन दुख्छ नै । एक करोड अझै घाटामा छु ।'

टिप्पणीहरू