श्रीमती र छोरीको नाममा सम्पत्ति थुपार्ने प्राधिकरणका कर्मचारी भ्रष्टाचारमा तानिए

श्रीमती र छोरीको नाममा सम्पत्ति थुपार्ने प्राधिकरणका कर्मचारी भ्रष्टाचारमा तानिए

काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्की भ्रष्टाचारमा मुछिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । कार्की प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय तथा अतिरिक्त जिम्मेवारीको रुपमा नयाँ सहरी विकास आयोजनामा कार्यरत छन् । 

उनले पदीय मर्यादा विपरीत सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । २०५८ साउनमा निजामती सेवामा प्रवेश गरेका कार्कीको २०७९ चैत ३० गतेसम्मको सम्पत्ति छानबिन गर्दा तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ स्रोत नखुलेको पाइएको अख्तियारले जनाइएको छ । 

अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिले आफ्नो छोरी गुष्माको नाममा जग्गा खरिद गर्नुका साथै पत्नी देवका अधिकारीको नाममा समेत राखेको उल्लेख छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २९ बमोजिम कार्कीकी पत्नी र छोरीलाई पनि प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गरी सजाय गर्न मागदाबी गरिएको छ ।

टिप्पणीहरू