प्रिमियरमा 'बोल्ड' हुनैपर्ने कस्तो रहर

प्रिमियरमा 'बोल्ड' हुनैपर्ने कस्तो रहर

पछिल्लो समय नेपाली कलाकार 'फेशन'को मामलामा अग्रपंक्तिमा देखिन थालेका छन् । ६० को दशकसम्म चलचित्रमा अभिनेत्रीहरुले स्र्कट, वान पिस, गाउन जस्ता पहिरन लगाएको विरल्लै देखिन्थ्यो । तर, अहिले यी पोशाक र पहिरन सामान्य बन्दै गएका छन् । 

हिजो साँझ सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा चलचित्र 'महाजात्रा'को भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा लगभग चार सय हारहारीमा दर्शक उपस्थित थिए । ती मध्ये निर्देशक तथा निर्माताका आफन्त, साथीभाई र पत्रकार मात्रै दुई सयको संख्यामा थिए । बाँकी सबै चल्तीका कलाकार । 

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, प्रकाश सपुत, रामबाबु गुरुङ, पूर्णेन्दु झा, सौरभ चौधरी, गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, आश्मा विश्वकर्मालगायत उपस्थित थिए । 

भएभरका सेलिब्रेटीहरु एकैठाउँमा उपस्थित भएपछि रंग पत्रकारहरुलाई पनि भ्याई-नभ्याई देखियो, फोटो/भिडियो खिच्न । तर, जब अभिनेत्री वर्षा राउत प्रिमियरमा पुगिन्, सबैको क्यामेरा उनीतिरै सोझियो । कारण थियो, उनको पहिरन । उनी निकै बोल्ड पहिरनमा उपस्थित भएकी थिइन् । 

यद्यपि आफ्नै चलचित्रको प्रिमियर भएर पनि होला, मिडियाको 'हटकेक' बन्न त्यो सुनौलो अवसर थियो, वर्षाको लागि । सिल्भर रङको पोशाकमा सजिएकी वर्षा प्रिमियरको आर्कषण बन्न सफल भइन् । 

रोचक कुरा के भयो भने, प्रिमियरमा उपस्थित भएका कतिपय दर्शकहरुले वर्षालाई अभिनेत्री उपसना सिंह ठकुरीसँग तुलना गर्न भ्याए । यसको कारण पनि पहिरन नै थियो । 

गत माघ २३ गते चलचित्रको 'हात्तीछाप'को प्रिमियरमा उपसनाले पनि वर्षासँग मिल्दोजुल्दो पहिरनमा सजिएकी थिइन् । त्यतिबेला उपसनाले पनि पहिरनकै कारण 'मिडिया अटेन्शन' पाएकी थिइन् । उस्तै शैलीमा हिजो वर्षाले पनि 'मिडिया अटेन्शन' कायम गरिन् । 

त्यसो त, प्रिमियरमा कलाकार जति बोल्ड देखिए पनि चलचित्र रिलिज नहुँदासम्म त्यसको प्रभाव नगन्य जस्तै देखिन्छ । चलचित्रलाई दर्शकले रुचाए भने, कलाकार आफैँ चर्चामा आइहाल्छन् । वर्षालाई अझै चर्चामा आउन 'महाजात्रा' हिट हुनैपर्ने बाध्यता छ । तर 'महाजात्रा'ले दर्शकहरुलाई कत्तिको प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ । 

स्मरण रहोस्, 'महाजात्रा' आगामी शुक्रबारबाट रिलिज हुँदैछ । यो जात्राको तेस्रो स्वीक्वेल हो । पहिलो  र दोश्रो स्वीक्वेलले बक्स अफिसमा राम्रै कलेक्शन गरेका थिए । अहिलेको तेस्रो स्वीक्वेल 'महाजात्रा'मा पनि अधिकांश पुरानै स्वीक्वेलका कलाकार छन् ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायतको अभिनय छ । 

निमार्ण टिमको दावीलाई आधार मान्ने हो भने यो चलचित्र विश्वभरका ४० देशमा रिलिज हुँदैछ । यहाँसम्म कि साउदी अरबमा रिलिज हुने यो पहिलो नेपाली चलचित्र बन्दैछ । यसअघि कुनै पनि नेपाली चलचित्रले साउदीमा प्रदर्शनको अनुमति पाएका छैनन् ।
 

टिप्पणीहरू