मेयरविरुद्ध मुर्दावादको नारा लगाउन अघि सरेका स्थानीय हच्किए

मेयरविरुद्ध मुर्दावादको नारा लगाउन अघि सरेका स्थानीय हच्किए

आस्था र प्रेम विशुद्ध भावनासँग जोडिएको हुन्छ । भावना मस्तिष्कले होइन, हृदयले पैदा गर्छ । हृदयमा बसेको मान्छेलाई नराम्रो भन्न सायदै सकिएला ! यस्तै भावह्विल बनाउने घटना भयो– सर्लाहीमा । बागमती नगरपालिकाका विभिन्न ठाउँमा अचेल शुटिङ भइरहेकोे छ, ‘मेयर’ फिल्मको । 

फिल्मको कथा सोही नगरपालिकाका मेयर भरतबहादुर थापाको जीवनसँग सम्बन्धित रहेको बताइन्छ । यद्यपि, उनकै ‘बायोपिक’ भने नभएको निर्देशक दिपेन्द्र के. खनालले बताइसकेका छन् । 

फिल्ममा मेयर थापाले गरेको केही संघर्षहरुलाई विम्बको रुपमा प्रयोग गरिएको छ र त्यो भूमिका निभाउँदै छन्, अभिनेता खगेन्द्र लामिछानेले ।

भयो के भने, केही दिनअघि शुटिङ चलिरहेको थियो । कथाको मागअनुसार त्यहाँका स्थानीयहरुले मेयरविरुद्ध नाराबाजी गरेको दृश्य खिच्नुपर्ने थियो । संयोगवश्, त्यो दिन मेयर थापा पनि शुटिङ हेर्न सेटमै पुगेका थिए । 

मेयरविरद्ध स्थानीयले नाराबाजी गरेको दृश्य खिच्न सबै तयार थिए । निर्देशकले ’एक्सन’ भन्नबित्तिकै स्थानीयले चर्को आवाज निकाल्दै भन्नुपर्ने थियो– ‘भरत थापा तस्कर हो, भरत थापा मूर्दावाद ।’ 

जब निर्देशक खनालले ’एक्सन’ भने, तब स्थानीय अक्क न बक्क भए !, दोस्रोचोटी ’एक्सन’ भन्दा पनि ’मूर्दावादको नारा लागेन । तेस्रो पटक स्थानीयले केवल प्लेकार्ड मात्र उचाले ।  

सेटभन्दा केही पर कुर्सीमा बसेर चुपचाप यो सबै हेरिरहेका मेयर थापाले बुझिसकेका थिए, किन स्थानीयले नाराबाजी गर्न सकिरहेका छैनन् भनेर ! त्यसपछि उनी त्यहाँबाट उठे र निर्देशक तथा कलाकारसँग बिदा मागेर बाटो लागे । 

मेयर थापा त्यहाँबाट निस्केपछि बल्ल स्थानीयले शुटिङको लागि आवाज निकाल्दै नाराबाजी गरे । स्थानीयको यो व्यवहार देखेर निर्देशक खनाल र अभिनेता खगेन्द्रसहित सबै अचम्ममा परे । 

त्यसो त, खगेन्द्र आफैं लेखक हुन् । भावुक स्वभावका उनले एक स्थानीयलाई सोधे, ’अघि नै मेयरज्यू हुँदा किन नाराबाजी नगरेको ? आखिर यो एकछिनको लागि नाटक मात्रै त हो । तपाईंहरुलाई यर्थाथमै मेयरविरुद्ध नारा लगाउनु भनेको होइन त । त्यही पनि बोल्नै सक्नुभएन । मेयरसँग डराएर हो ? ’

ती स्थानीयले खगेन्द्रलाई जवाफ दिए, ’डराएर होइन । आस्थामा राखेको अभिभावककै अघि कसरी उहाँविरुद्ध नाराबाजी गर्न सक्छौं ? नाटकै भए पनि हामी उहाँविरुद्ध बोल्न चाहदैनौं । उहाँले हामीलाई धेरै गुन लगाउनुभएको छ । कोही बिरामी भयो, आफैं डाक्टर ल्याएर आउनुहुन्छ उहाँ । कसैको चामल सकियो, आफैं बोरा बोकेर आउनुहुन्छ । कोही बच्चा स्कुल नगएको थाहा पाउनुभयो, हामीलाई आएर गाली गर्नुहुन्छ र आफैं बच्चा बोकेर स्कुल पुर्याउनुहुन्छ । अब तपाईं आफैं भन्नु्स, यस्तो भगवानको लागि हामी कसरी नाराबाजी गर्न सक्छौं ?’ 

स्थानीयको यस्तो जवाफले खगेन्द्रसहित चलचित्र युनिट भावुक बन्यो । खगेन्द्रले भनेका छन्, ’अहिले समाजमा कमाउने र रमाउने सोच भएका जनप्रतिनिधिहरुको बिगबिगी छ । तर भरतजी जस्तो जनप्रतिनिधि हाम्रै नेपालमा छन् भन्दा, मलाई गौरव लागेको छ । साँच्चि यस्तो जनप्रतिनिधि नेपालमा दुर्लभ छन् ।’  
 
फिल्मका लागि दृश्यहरु योजनाबद्ध ढंगले खिच्ने गरिन्छ । तर त्यसदिन शुटिङको क्रममा अस्वाभाविक ढंगले फिल्मकै दृश्यजस्ते परिस्थिति बन्यो, जुन यथार्थमा थियो । यो घटनाले अहिले फिल्मनगरीमा राम्रो चर्चा पाइरहेको छ ।

भलै मेयर भरतको आलोचना गर्ने स्थानीय पनि प्रशस्तै भेटिएका छन् ।

टिप्पणीहरू