प्रधानमन्त्रीलाई तेस्रो पटक विश्वासको मत, पहिलेभन्दा ७ प्रतिशत कम

प्रधानमन्त्रीलाई तेस्रो पटक विश्वासको मत, पहिलेभन्दा ७ प्रतिशत कम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । १४ महिनामा दुईचोटी समीकरण बदलेर प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुभएको हो । 

त्रिशंकु संसदमा सरकार गठनका लागि निर्णायक शक्तिका रुपमा रहेको माओवादी केन्द्र संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्रीले तीनैचोटी विश्वासको मत कायम गरेपनि समर्थन भने क्रमशः घट्दै गएको छ । प्रधानमन्त्रीलाई पहिलो पटक सदनको झण्डै शतप्रतिशत विश्वास प्राप्त भएको थियो । तर, आज उहाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा करिब ५८ प्रतिशत मत खसेको छ । 

गत वर्ष पुस १० गते नेकपा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबेला उहाँलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो । पुस २६ गते विश्वासको मत लिँदा विपक्षी खेमाका काँग्रेस, एकीकृत समाजवादी, लोसपालगायतले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई २६८ जना अर्थात् ९९ प्रतिशत सांसदको समर्थन प्राप्त भयो । प्रधानमन्त्रीको विपक्षमा एक–एक सांसद रहेका जनमोर्चा र नेमकिपा मात्र उभिएका थिए । 

तर, प्रधानमन्त्रीले पुस १० गते बनेको ‘वाम गठबन्धन’ छोडेर काँग्रेससहितको पुरानै गठबन्धन रोजेपछि उहाँलाई दिएको समर्थन फिर्ता लिँदै एमाले र राप्रपा सरकारबाट बाहिरिए । प्रधानमन्त्रीको दल विभाजन भएमा वा कुनै दलले समर्थन फिर्ता लिएमा प्रतिनिधिसभाबाट विश्वासको मत सिद्ध गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीलाई पुनः विश्वासको मत लिनुपर्ने भयो । 

त्यसपछि गतवर्ष चैत ६ गते उहाँले दोस्रो पटक विश्वासको मत लिनुभयो । त्यसबेला प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १७२ सांसदले मत हालेका थिए । विपक्षमा ८९ मत पर्दा एक सांसद तटस्थ बसे । प्रधानमन्त्रीले पाएको मत प्रतिनिधिसभामा तत्काल कायम संख्या २६२ को ६५.२४ प्रतिशत हो ।

त्यसको एक वर्ष पुग्ने लाग्दा फागुन २१ गते एमाले र रास्वपासहितको पुरानै गठबन्धनमा फर्किने निर्णय गर्नुभएका प्रधानमन्त्रीलाई यसपटक समर्थन झन घटेको छ । आज भएको मतविभाजनमा कूल २६८ मध्ये प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मात्र १५७ मत पर्यो । विपक्षमा ११० सांसद उभिँदा एक जना तटस्थ रहे । प्रधानमन्त्रीले पाएको मत प्रतिशतमा ५८.५८ हो । 

यस पटक प्रधानमन्त्री प्रचण्डलाई उहाँको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाए । दुई स्वतन्त्र सांसदले पनि पक्षमा मतदान गरे । यसअघि दुबैपटक विश्वासको मत दिएको संसदको सबैभन्दा ठूलो दल काँग्रेस प्रधानमन्त्रीको विपक्षमा उभियो । त्यस्तै, राप्रपा, जनमत, लोसपा, जनमोर्चाले पनि विपक्षमा मतदान गरे । 

प्रधानमन्त्रीले आज पाएको मत अघिल्लो पटक विश्वासको मत लिँदा प्राप्त गरेको मतको तुलनामा झन्डै ७ प्रतिशत कम हो ।

टिप्पणीहरू