गलत मूल्यांकन गर्ने प्राविधिक प्रमुख भ्रष्टाचारमा डामिए

गलत मूल्यांकन गर्ने प्राविधिक प्रमुख भ्रष्टाचारमा डामिए
सुन्नुहोस्

प्राविधिक कार्यालय, मुगुका तत्कालिन कार्यालय प्रमुख इञ्जिनियर देवीप्रसाद पाण्डे भ्रष्टाचारमा मुछिएका छन् । 

सिँचाई आयोजनामा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा चलाइएका अन्यमा मुगु सामुदायिक सिँचाई आयोजनाका इञ्जिनियर महेशसिंह कठायत, सबइञ्जिनियर भीमबहादुर रोकाय, आयोजनामा खटिएका सर्जनबहादुर शाही छन् । 

त्यस्तै, सोरु गाउँपालिका-९ का तत्कालिन वडाध्यक्ष परुनाथ योगी, सचिव नव गिरी, तन्दवाडा सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही, कोषाध्यक्ष रत्न रुपा शाही र आयोजनामा परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढथापाविरुद्ध पनि मुद्दा दर्ता भएको छ । 

उनीहरुले आपसी मिलेमतोमा सोरु गाउँपालिका–९ स्थित तन्दवाडा–छडा सिँचाई आयोजनामा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगर्नुका साथै न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ । 

हुँदै नभएको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ बिलहरु प्रमाणित गरी उपभोक्ता समितिलाई वास्तविक गरेको कार्यभन्दा २६ लाख ८२ हजार १४ रुपैयाँ बढी भुक्तानी दिइएको अदालतमा दायर आरोप पत्रमा उल्लेख छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ बमोजिम २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गरेको छ ।
 

टिप्पणीहरू