स्यानिटरी प्याडमा खान खोज्दा मेयर र उपमेयर साहेब...

स्यानिटरी प्याडमा खान खोज्दा मेयर र उपमेयर साहेब...

स्थानीय सरकार भ्रष्टाचारको अखडा बनेको गुनासो बढिरहँदा धनुषाको शहीदनगर नगरपालिकामाथि स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको आरोप लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याड खरिदमा झण्डै १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालिन नगर प्रमुख उदयकुमार यादव र उपप्रमुख शिलादेवी कापरसहित नौं जनाविरुद्ध मुद्दा चलाएको हो । 

स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐनको पालना नगरेको तथा गुणस्तरहीन प्याड किनेको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा नगर प्रमुखसहितको मिलेमतोमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले आज विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ । 

अख्तियारले नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्रन यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, सबइन्जिनियर सरोजकुमार महतो, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार र रेजा टे्रडिङ्ग प्रालि एंव राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मंसुरविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा कैद र बिगोबमोजिम जरिवाना गरी असुलउपर गर्नुपर्ने अख्तियारको मागदाबी छ ।
 

टिप्पणीहरू