सुहाङले पाउलान् त इलामको टिकट ?

सुहाङले पाउलान् त इलामको टिकट ?

निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते निर्वाचनको घोषणा गरेसँगै यहाँ रौनक शुरु भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण मृत्यु भएपछि क्षेत्र नं. २ रिक्त बनेको हो । 

केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा झण्डै दर्जनजति व्यक्तिको नाम चर्चा गरिए पनि एमाले र कांग्रेसबाट आधा दर्जनभन्दा धेरै आकांक्षी छैनन् । नेकपा एमालेको तर्फबाट नेम्वाङले कहिल्यै नहारेको यो क्षेत्रमा पुत्र सुहाङ पनि आकांक्षीको रूपमा देखिएका छन् । जिल्लाका कार्यक्रममा उपस्थित हुँदा उनीप्रति युवाको आकर्षण देखिने गरेको छ । सुहाङ बाबुको निधनपछि राजनीतिक कार्यक्रममा देखिन थालेका छन् । 

इलाम स्पोर्टिङ फुटबल क्लबको अध्यक्षसमेत रहेका उनी अधिवक्ता पनि हुन् । बाबुजस्तै शालिन र भद्र स्वभावका उनलाई जिल्लाका खेलकुद प्रतियोगितामा बाक्लै देखिने गरेको छ् । अध्यक्ष केपी ओलीको चाहनाविपरीत कसैले टिकट नपाउने भएकाले मतदाता र कार्यकर्ताको चाहनाले खास अर्थ नराख्ने बताइन्छ । एमालेबाट अर्का आकांक्षी हुन्, गणेश बराल र बुद्धि खनाल । बराल प्रदेश संसदमा गएको निर्वाचनमा कांग्रेसका गोविन्द गिरीसँग पराजित भएका थिए भने खनालले भने लामो समय नेम्वाङकै स्वकीयको रूपमा काम गरेका हुन् । हाल उनी माई नगरपालिका–६ मा वडाध्यक्ष छन् ।

गत निवार्चनमा नेम्वाङसँग ११४ मतले मात्र पराजित भएका डम्बर खड्कालाई कांग्रेसका सशक्त दाबेदारको रूपमा मानिएको छ । उनी जिल्ला सभापति पनि हुन् । देउवानिकट मानिन्छन् । अघिल्लो निर्वाचनदेखि नै भेषराज आचार्य र पूर्व जिल्ला सभापति केशव थापा पनि दावेदार हुन् । यता, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा फोनिजका महासचिव मिलन लिम्बूले पनि चुनाव लड्ने घोषणा गरेका छन्् । उनी पहिचानवादीहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा उठ्न खोज्दै छन् । 
 

टिप्पणीहरू