पोष्टमार्टम रिपोर्टपछि टिचिङ अगाडि पुण्य गौतमहरुको नाराबाजी

पोष्टमार्टम रिपोर्टपछि टिचिङ अगाडि पुण्य गौतमहरुको नाराबाजी

चितवनको रत्ननगरस्थित विद्यालयको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट निष्पक्ष हुनुपर्ने माग गर्दै पीडित परिवार प्रदर्शनमा उत्रिएको छ । 

बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेका परिवारका सदस्यहरुले त्यसअनुसार पोष्टमार्टम रिपोर्ट नआएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गरेका हुन् । मृतकका बुवा दीपेन्द्र पोखरेल, आमा सगुन, ठूलोबुबा प्रकाश ढकालसहित स्वःघोषित सामाजिक अभियन्ता पुण्य गौतमलगायत केहीबेर अघि प्रदर्शनमा उत्रिएका थिए। 

त्यसक्रममा उनीहरुले ‘हत्यारालाई फाँसी दे’, ‘हाम्रा छोरीचेली कहिलेसम्म असुरक्षित ?’, ‘दोषी सबैलाई कारबाही गर’, ‘हाम्रो छोरीलाई दोस्रो निर्मला नबनाइदे,’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका हुन् ।

 गोरखाको अजिरकोट स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ्ग स्कुलको होस्टलमा बसेर अध्ययनरत १४ वर्षीया शालिनको फागुन १२ गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो। 

घटनालगत्तै प्रहरी टोली पुगेर उनको कोठाबाट शव निकालेको बताइन्छ । तर, सोही दिन विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिइएकोमा प्रहरीले आनाकानी गरेको भन्दै पीडित परिवारले घटना शंकास्पद रहेको दावी गर्दै आएको छ। 

उनीहरुले शंका गरेपछि भरतपुर अस्पातलमा पोष्टमार्टम नगराई शव त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । तर, अस्पतालले आज दिएको रिपोर्टमा शालिनको बलात्कार नभएको पुष्टि गरिएको छ । रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ लेखिएको छ।
 

टिप्पणीहरू