शालिन मृत्यु प्रकरण - प्रधानमन्त्रीको स्टाटसपछि बोल्यो प्रहरी

शालिन मृत्यु प्रकरण - प्रधानमन्त्रीको स्टाटसपछि बोल्यो प्रहरी

चितवनको रत्ननगरस्थित शिशु निकेतन माविको छात्रावासमा गत शनिबार स्कुले बालिका मृत भेटिएको घटनाप्रति सरोकारवालाको चासोसँगै सामाजिक सञ्जाल तात्दै गएपछि प्रहरी, प्रशासनको मौनता तोडिएको छ । एक सातासम्म घटनाका सम्बन्धमा केही नबोलेको जिल्ला प्रहरी कार्यालय, चितवनले हिजो विज्ञप्तिमार्फत घटनाका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको हो । 

फागुन १२ गते शनिबार बिहान साढे १० बजे एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षकी शालिन पोखरेलको शव होस्टेल कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । उनीसहित उक्त कोठामा पाँच जना किशोरी रुम पार्टनर थिए । विद्यालयभित्रै भएको घटना 'हत्या कि आत्महत्या' भन्ने परस्परविरोधी धारणा बाहिर आइरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत सामाजिक सञ्जालबाटै शालिन पोखरेलको मृत्युले आफूलाई गम्भीर र दुःखी बनाएको बताउनुभएको थियो । घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीको भनाई छ । 

त्यस्तै, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै सत्यतथ्य छानविनको माग गर्नुभएको छ । नेपाली कांग्रेस, रास्वपालगायतका दलहरुले पनि घटनाका सम्बन्धमा चासो राखेका छन् । सबैतिरबाट दबाब बढेपछि शुरुमा जाहेरी लिनसमेत अस्वीकार गरेको आरोप खेपेको प्रहरीले हिजो साँझ विज्ञप्ति सार्वजनिक गरेको हो । 

विज्ञप्तिमा घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सम्प्रेषित विषय वस्तुप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरिएको छ । 

‘घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा सम्प्रेषित विषय वस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि वस्तुहरु सम्प्रेषण नगरी दिन हुन अनुरोध गरिएको छ ।’

घटनाको जानकारी प्राप्त हुनासाथ बरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली खटिई गम्भीर रुपमा अनुसन्धान कार्य भइरहेको प्रहरीले दावी गरेको छ । 

विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल प्रहरीले आफ्नो पेशागत मूल्यमान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भइरहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने कुरा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौं ।’


 

टिप्पणीहरू