विशेष अदालतविरुद्ध अख्तियार फेरि सर्वोच्चमा

विशेष अदालतविरुद्ध अख्तियार फेरि सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको अर्को एउटा मुद्दाविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढकाएको छ । आयोगले विशेष अदालतबाट भएको एउटा फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको बताइएको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिए । 

करिब चार वर्षअघि सामुदायिक वनको काठ अवैध रुपले लैजान लाग्दा इलाका प्रहरी कार्यालय विपीनगर, डोटीका इन्स्पेक्टर नृपबहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चक्रबहादुर साउदलाई स्थानीयले समातेका थिए । 

रातको समयमा ट्याक्टरमा काठ लोड गरेको देखेपछि स्थानीयले उनीहरुलाई काठसहित नियन्त्रणमा लिएका थिए । त्यसपछि अख्तियारले २०७७ असार ७ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतको गत असार २० गतेको फैसलाले प्रतिवादीहरुलाई सफाई दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

टिप्पणीहरू