सिठ्ठी बजाउँदै हिँडेका प्रदर्शनकारीको आरोप : सरकारले लाज ढाकछोप गर्न पनि जानेन

सिठ्ठी बजाउँदै हिँडेका प्रदर्शनकारीको आरोप : सरकारले लाज ढाकछोप गर्न पनि जानेन
सुन्नुहोस्

न्याय माग्दै पुनः काठमाडौं आएका मीटरब्याज पीडितहरुले आज सिठ्ठी जुलुस निकालेका छन् । उनीहरु भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिठ्ठी बजाउँदै गएका हुन् ।

‘मिटरब्याजी साहुलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘किसानको भूमि फिर्ता गर’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘गृह प्रशासन मुर्दावाद’ लगायतका नारा लगाएका उनीहरुलाई बालुवाटार नपुग्दै रोकिएको बताइन्छ ।  

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरबाट पैदलयात्रा गरेर गत फागुन ९ गते काठमाडौं आइपुगेका पीडितहरुले सरकारले जाँचबुझ आयोग गठन गरेपनि समस्या समाधान नभएको गुनासो पोखेका छन् । सोमबार गृह मन्त्रालयले उनीहरुलाई वार्तामा बोलाएको थियो । तर, तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्षमा नपुगिएको मीटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले जनाएको छ ।

 

समिति अध्यक्ष अवधेश कुश्वाहले मीटरब्याज अपराधबाट सिर्जित समस्या समाधान गर्न आफूहरुले प्रस्तुत गरेको छ बुँदे मागप्रति सरकारले चासो नदेखाएको बताए । अहिले भइरहेको प्रक्रिया र संरचना नै मीटरब्याज पीडितहरुको न्याय निरुपणको निम्ति पूर्णरहेको सरकारको दावीप्रति उनले रोष प्रकट गरेका छन् । 

‘सरकारले उपलब्धिको रुपमा दावी गरेको केही नेपाल ऐनमाथिको मीटरब्याजसम्बन्धी संशोधन, अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ र त्यसले गरेको कामकारबाही अपूर्ण एवम् विफल भएको तथ्य प्रमाणित छ,’ समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले, लाज ढाकछोप गर्न अर्को शाक्तिशाली आयोग गठन गर्न नमानेको हाम्रो अनुमान छ ।’

मीटरब्याज समस्या पूर्ण रुपमा समाधान हुन्छ भनेर गृहमन्त्रीले विजय मनाएको ११ महिनापछि पनि समस्या जस्ताको त्यस्तै रहनुले उहाँलाई नैतिक संकटमा पारेको समेत समितिको ठम्याई छ । ‘हिजोका सम्पूर्ण प्रयासहरु प्राविधिक र टालटुले रहे, हामी सरकारलाई जानकारी गराउँदछौ कि नयाँ शीराबाट छ बुँदे मागअनुरुप पुनः अघि बढौं,’ विज्ञप्तिमा उल्लेख छ । सरकारी पक्षबाट आफ्ना मागहरुप्रति भइरहेको बेवास्ताले सशक्त सडक संघर्ष गर्न बाध्य बनाइएको आरोप लगाइएको छ ।

टिप्पणीहरू