हाकुकालेको नयाँ चलचित्र, भोलिदेखि सर्वत्र

हाकुकालेको नयाँ चलचित्र, भोलिदेखि सर्वत्र
सुन्नुहोस्

वर्षकै बहुप्रतिक्षित मानिएको चलचित्र ’अगस्त्यः च्याप्टर १’ भोलि रिलिज हुँदैछ । निर्माण घोषणासँगै विभिन्न दृष्टिकोणबाट यो चलचित्र मिडियामा निकै चर्चामा आएको छ । एकातिर युवापुस्तामा अब्बल अभिनयको छबि बनाएका चर्चित कलाकार सौगात मल्ल, नाजिर हुसेन, मलिका महत र प्रमोद अग्रहरीले एकैसाथ स्क्रीन सेयर गरेका छन् भने अर्कोतिर सिनेमाले अहिलेसम्मकै पृथक कथा बोकेको बताइन्छ । 

सुस्ताउँदै गएको नेपाली चलचित्र बजारलाई सोही चलचित्रले नयाँ रौनक दिने अपेक्षा गरिएको छ । समग्रमा देशभरका हलहरुले पनि यस चलचित्रको उत्साह देखेर २ सय ५९ सो उपलब्ध गराउने बताएका छन् ।

रिलिजको संघारमा रहेको यस चलचित्रका मुख्य अभिनेता सौगात मल्ललाई जनआस्थाले केही प्रश्न गरेको थियो । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः 

तपाईंलाई ’हाकुकाले’ भनौं कि सौगात मल्ल ?

हा हा । सौगात नै भन्नुस् । दर्शकहरुले मलाई पहिलो पटक नोटिस गर्दाको क्यारेक्टर भएर होला, अहिले पनि कतिपयले ’हाकुकाले’ भनेरै चिन्नुहुन्छ । तर त्यसयता मैले धेरै क्यारेक्टर गरिसके । अहिले कतिपयले मेरो पछिल्लो फिल्मका क्यारेक्टरबाट पनि सम्बोधन गरेको पाएको छु । दर्शकहरुले मलाई जुन क्यारेक्टरले चिने पनि म सौगात मल्ल नै हुँ । 

‘अगस्त्य’ लाई वर्षकै बहुप्रतिक्षित मानिएको छ, यो फिल्मसँग कसरी र कहिले जोडिनुभयो ? 

मैले ठ्याक्कै मिती त बिर्सिसकेँ । सायद एक वर्षअघि बैशाखतिरबाट काम सुरु भएको थियो । तर त्योभन्दा पहिले नै मैले ’अगस्त्य’ फिल्म बन्न लागेको सुनिसकेको थिएँ । पछि शौरभ चौधरी (निर्देशक) ले स्क्रिप्ट हेरेर निर्णय दिनुस् भन्नुभयो । मैले कथावस्तु निकै निकै ’इन्ट्रेस्टिङ’ लाग्यो । त्यसपछि म काम गर्न तयार भएँ । फिल्म बनाउने भएपछि हामीले पनि कथावस्तुमा केही इनपुट गर्यौं ।

कहाँ–कहाँ भयो शुटिङ ?

सुरुमा हामी गोरखपुर पुग्यौं । त्यहाँका थुप्रै ठाउँमा हामीले पहिलो चरणको शुटिङ गर्यौं । त्यसपछि केही समय ग्याप भयो । कथाको डिमान्ड अनुसार ज्यान बढाउनुपर्ने भएकाले त्यसो गरियो । अन्य कलाकारहरुले पनि आफ्नो फिट्नेसमा काम गर्नुपर्ने थियो । दोस्रो चरणको शुटिङ राजबिराजमा गर्यौं । केही शुटिङ भैरहवा र काठमाडौँमा पनि गर्यौं । 

तपाईंसँग थुप्रै स्क्रिप्टहरु लाइन–अपमा छन् भनिन्छ, यही फिल्म रोज्नुको कारण ? 

नढाँटी भन्दा, मलाई कथाको क्यारेक्टर ’इम्प्रेसिङ’ लागेरै हो । मसँग अरु फिल्मका स्क्रिप्टहरु नभएका होइनन्, तर यस कथामा मैले निभाउनुपर्ने जुन क्यारेक्टर थियो, त्यसले तानेको हो । केही वर्षयता मैले गरिरहेका फिल्ममा लगभग उस्तै उस्तै क्यारेक्टर छन् । तर यसमा मैले अहिलेसम्म नगरेको क्यारेक्टर छ । त्यसैमाथि फेरि प्रायः एउटा फिल्ममा कलाकारको एउटै क्यारेक्टर हुन्छ, तर यसमा मैले दुई वटा क्यारेक्टर गर्ने मौका पाएँ । लामो समयसम्म एउटै क्यारेक्टर गर्दा कलाकारहरुलाई बोर लाग्छ । जुन स्वाभाविक पनि हो । एउटै प्रकारको क्यारेक्टर गरिरहदा आफैंलाई पनि मजा आउँदैन र ग्रोथ भएको फिल हुँदैन । 

पहिले लुट गर्दा पनि त्यो क्यारेक्टर त्यतिबेला पृथक थियो । भलै, अहिले त्यस्तै क्यारेक्टरमा धेरै फिल्म बनिसकेँ । मेरो हकमा प्रायः म च्यालेञ्जिङ रोल निभाउन मन लाग्छ । त्यसकै उपज हो अहिले अगस्त्य पनि । 

उसो भए, अगस्त्यको कथा के हो ? 

हत्तेरिका, अप्ठ्यारोमा नपार्नुस् न मलाई । यो अहिले नै नभनौं होला । फिल्मको ’सस्पेन्स’ खोल्दा मजा नआउला । तर म अहिलेलाई यति भन्न सक्छु कि दर्शकहरु फिल्म हेरेपछि निराश हुनपर्दैन । नेपाली चेलीहरु कसरी भारत पुग्छन् भन्ने एउटा संवेदनशील विषय हो । यसबारे नेपालमा खासै फिल्म बनेका छैनन् । केही बनेका फिल्ममा पनि यो विषयलाई सामान्य तरिकारले उठाइएको छ । तर हामीले यसमा निकै सुक्ष्म तरिकाले काम गरेका छौँ । 

मानौं कथा राम्रो छ । तर कथा राम्रो छ भन्दैमा मेकिङ पनि राम्रो छ भन्ने के ग्यारेन्टी ?

अरु फिल्मको हकमा त्यस्तो होला । तर अगस्त्य फरक हो । मैले पहिले सामाजिक सञ्जाल र पुस्तकहरुमा पढेको विषयलाई फिल्ममा राम्रो तरिकाले प्रस्तुत गरिएको छ । फिल्मको मेकिङलाई पनि हामीले नयाँ प्रयोग गरेका छौं । त्यो चाहे लाइटमा होस् वा क्यामेरामा । जे होस्, दर्शकहरुले फिल्म हेरेपछि अचम्म मान्नुहुनेछ । हामीले छोटो दृश्यको लागि पनि धेरै मेहनत गरेका छौं । 

डबिङ गर्दा पूरै फिल्म हेर्नुभयो होला । आफ्नै काम कस्तो लाग्यो ? 

छैन, छैन । मैले पनि पूरा फिल्म हेरेको छैन । अहिलेसम्म जति पनि चलचित्र गरेँ, ती चलचित्र प्रिमियर अघि हेरिनँ । किनकि पहिल्यै हेरेपछि रिलिज गर्दा हलमा मजा आउँदैन । म सँधै आफ्नो भागको डबिङ गर्छु र आफ्नो बाटो लाग्छु । त्यो फिल्म मैले पनि पहिलोपल्ट हलमा नै हेर्ने हो । 

नेपाली चलचित्रको इतिहास हेर्दा हिट भएका अधिकांश फिल्म ’सोसल ड्रामा’ र ’कमेडी ड्रामा’ जनराका छन् । तर अगस्त्य ’सस्पेन्स थ्रिलर’ जनरामा छ । यसरी रिस्क लिनुको कारण ?

यो निकै महत्वपूर्ण कुरा हो । नेपाली बजारमा अहिले जति पनि फिल्म हिट भएर राम्रो आम्दानी गरेका छन्, अक्सर ती फिल्म सोसल वा कमेडी जनराकै छन् । तर हामीले यस पटक नेपालीले गर्व गर्ने फिल्म बनाऔँ न भनेर यसमा काम गरेका छौं । फिल्मले कमाउला वा नकमाउला, त्यो आफ्नै ठाउँमा छ । तर यो चाही पक्का हो कि नेपालमा अहिलेसम्म बनाउन नसकिएको फिल्म हो यो । हामीले त्यसरी काम गरेका छौं । फिल्मको टिजर र ट्रेलर हेर्दा पनि यो कुरा थाहा हुन्छ । अरुअरु फिल्मका टिजर र ट्रेलरभन्दा यसको टिजर र ट्रेलर नै फरक छ । त्यो कुरा दर्शकहरुले महशुस गरिसक्नुभएको छ । नेपाली दर्शकहरुलाई फरक स्वाद चखाउनकै लागि सस्पेन्स थ्रिलरको रिस्क लिएका हौं, सबैले । 

टिजर र ट्रेलर हेरेर कतिपयले ’दक्षिण भारतीय चलचित्रको कपी’ पनि भनेका छन् नि ? 

राम्रो कुरासँग तुलना हुनु राम्रो हो । नेपाली दर्शकहरु साउथ मूभिबाट धेरै प्रभावित हुनुहुन्छ । हाम्रो फिल्मलाई पनि तुलना गर्नु स्वाभाविक हो । फिल्मको निर्माणपक्ष स्तरीय हुनु राम्रो हो । तर दर्शकहरुलाई अगस्त्य नेपाली माटोकै फिल्म हो भन्न चाहन्छु । 

उहाँहरुले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ, यो विशुद्ध नेपाली कथा हो । फिल्म टिपिकल नेपाली र अर्गानिक छ, ढुक्क हुनुस् । 

अन्त्यमा, लेखकले तयार पारेको संवाद तपाईंले निकै ’मोडिफाइ’ गर्नुहुन्छ भन्ने आरोप छ नि ?

हो । र, यो मेरो लागि सामान्य हो । मैले यो पहिलेका चलचित्रदेखि नै गर्दै आएको हुँ । लेखिएको संवादको आशय नमर्नेगरी आफ्नो मौलिकता थप्न मिल्छ । फेरि यसले फिल्ममा राम्रो काम पनि गर्छ । त्यो नगरी पनि हुँदैन । किनकि, गर्ने मैले हो, सौगात मल्लले हो । क्यारेक्टरलाई कत्तिको अर्थपूर्ण र रियालिस्टिक बनाउने भन्ने कुरो कलाकारकै हातमा हुन्छ । त्यसैले म आफैंमाथि नयाँ नयाँ प्रयोग गर्छु । त्यसक्रममा राम्रो भयो वा नराम्रो भन्ने विषय पछि मात्रै थाहा हुन्छ ।

टिप्पणीहरू