काठमाडौं महानगर र फुटपाथ व्यवसायीको झडपमा कुटिए पत्रकार

काठमाडौं महानगर र फुटपाथ व्यवसायीको झडपमा कुटिए पत्रकार

काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपका क्रममा एक जना पत्रकार पनि कुटिएका छन् । हिजो राति सुन्धारास्थित महानगर प्रहरीले सडक व्यापारीहरुलाई हटाउने क्रममा पत्रकार पदमप्रसाद पोखरेलमाथि आक्रमण भएको हो । 

प्राणमञ्च मासिक तथा डटकमको प्रधानसम्पादकसमेत रहेका उनलाई भिडियो खिचिरहँदा महानगर प्रहरीले मरणासन्न हुनेगरी पिटेको हो । कुटपिटबाट घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा तिघ्राको लिगामेन्ट च्यातिएको देखिएको छ । 

शारीरिक रुपमा अपाङ्गता रहेका उनको हातखुट्टामा अन्य चोटपटक पनि लागेको छ । मिडियाको परिचयपत्र देखाउँदादेखाउँदै महानगर प्रहरीले आफूलाई लाठीले पिट्दै लछारपछार गरेको उनले बताए । आफ्नो मोबाइल फोन,क्यामेरा,ल्यापटप र कागजपत्र पनि प्रहरीले जफत गरेको उनको भनाइ छ । 

‘म हिजो बेलुका त्यही बाटो आइरहेको थिएँ । त्यहाँ नगर प्रहरीले सडक व्यवसायीलाई हटाउन खोज्दै रहेछ । त्यसपछि व्यवसायी आक्रान्त भए । दुवै पक्षबीच झडप भयो । प्रहरीले लाठी हान्यो, उनीहरुले पनि जे–जे भेट्यो त्यसले हिर्काए । म कुनामा बसेर भिडियो खिचिरहेको थिएँ । एक हुल नगरप्रहरी आएर फोटो खिच्ने भन्दै मलाई पनि लछारपछार गर्दै पिटे । जबकि मैले प्रेस कार्ड पनि देखाएको थिएँ’, उनले भने । 

पत्रकारको परिचय दिएपछि प्रहरी झनै आक्रोशित भएको उनी बताउँछन् । उनका अनुसार प्रहरीले जबरजस्ती भ्यानमा राखेर सबैलाई काठमाडौं महानगर प्रहरी बलको कार्यालय पुर्याएको हो । नेपाल प्रहरीको निर्देशनपछि मात्र छोडिएको उनले जानकारी दिए । 

पत्रकारमाथि धरपकड र हातपात भएपछि श्रमजीवी पत्रकार संघ, नेपालले आपत्ति जनाएको छ । संघका अध्यक्ष जन्मदेव जैसीले आज विज्ञप्ति जारी गर्दै महानगर प्रहरीको हर्कत संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् । 

‘आफूलाई पत्रकार भनेर चिनाउँदाचिनाउँदै महानगर प्रहरीले गरेको यस्तो कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य भएको हाम्रो ठहर छ । यसप्रकारको संविधानविरोधी कार्य नगर्न हामी महानगरको गम्भीर ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, संघले घाइते सबैको उपचारको ग्यारेन्टी लिन र जफत गरिएका सामान फिर्ता दिन माग गरेको छ । महानगरले राति ९ बजेबाट मात्र फुटपाथ पसल राख्न दिने भनेपनि व्यवसायीहरुले हिजो ७ बजे नै पसल थापेका थिए । सो विषयलाई लिएर सुन्धारामा महानगर प्रहरी र व्यवसायीबीच झडप भएको हो ।

 

टिप्पणीहरू