सुन्तली-धुर्मुसले छाडेको काम अब फेरि शुरु

सुन्तली-धुर्मुसले छाडेको काम अब फेरि शुरु
सुन्नुहोस्

कलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली'को फाउण्डेशनले खर्च अभावमा वीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले अब पूर्णता पाउने भएको छ । 

भरतपुर महानगरपालिकाले तीन वर्षदेखि अलपत्र रंगशाला निर्माणको लागि टेण्डर आह्वान गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड बराबरको टेण्डर आह्वान गरेको छ ।

३० दिनको म्याद राखी खुलाइएको टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिने र प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई दुई हप्ताभित्रै जिम्मा दिइने महानगरले उल्लेख गरेको छ । 

स्मरण रहोस्, ०७५ माघ १६ गते धुर्मुस-सुन्तली फाउन्डेशनले  काठमाडौंकै राष्ट्रिय सभागृहमा एक भव्य समारोहको आयोजना गरी रंगशाला निर्माणको घोषणा गरेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाइएको सो समारोहको स्टेजमै फाउन्डेशनका अध्यक्ष धुर्मुस र भरतपुर महानगरकी प्रमुख रेणु दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

दुवै पक्षले हस्ताक्षर गर्दै गर्दा ताली बजाउनेहरुमा थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका तत्कालिन महामन्त्री डा सशांक कोइराला,पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत दर्जनौँ विद्वानहरु । 

त्यतिबेला सम्झौतामा फाउण्डेशनले करिब ३ अर्ब रूपैयाँ आर्थिक स्रोत जुटाएर २ वर्षभित्र नेपाली मौलिकता झल्कने आकर्षक, कलात्मक, सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने, निर्माण कार्य सकिएपछि फाउण्डेशनले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने उल्लेख थियो ।

तर काम शुरु भएको दुई वर्षमै फाउन्डेशनले पर्याप्त आर्थिक स्रोत नजुटेको भन्दै रंगशाला निर्माणबाट हात झिक्यो  । रंगशालाको निर्माण छाड्दै गर्दा धुर्मुस सुन्तलीले सामाजिक सञ्जालमा लाइभ नै आएर आफूहरु १८ करोड ऋणमा परेको समेत दावी गरेका थिए । भलै, केही व्यक्तिले उनीहरुको आलोचना गर्दै झूठ बोलेको जिकिर गरे । 

अन्ततः लामो उतार चढावका बाबजुद गत कात्तिकमा महानगरले बाग्मती प्रदेश सरकारसँग सहयोग मागेपछि आज नयाँ टेण्डर खोलिएको छ । अब निर्माण खर्चमा लाग्ने बजेटको ३० प्रतिशत प्रदेश सरकारले सहयोग गर्नेछ भने बाँकी ७० प्रतिशत रकम महानगरले नै जुटाउँदैछ ।

टिप्पणीहरू