राँगा,भैंसी मात्र हैन जवानलाई पनि यताउता गर्न छुट

राँगा,भैंसी मात्र हैन जवानलाई पनि यताउता गर्न छुट
सुन्नुहोस्

बाहिनीपतिको जिम्मेवारी बिर्सेर हवल्दारको पारा देखाएको भन्दै सशस्त्र प्रहरी ५ नम्बर विन्दबासिनी बाहिनी प्रमुख डिआइजी अभि खत्रीको लुम्बिनी प्रदेशमा आलोचना शुरु भएको छ ।

साउनमा घर जाने खत्रीका ३ जना प्रमुख एजेन्ट छन्-सहायक निरिक्षक हिमाल खड्का, पश्चिम नवलपरासीको गुठी पर्सौनी बिओपीका निरीक्षक उत्तम सिलवाल तथा कपिलवस्तुका कुख्यात राँगा तस्कर र संकटकालका भगौडा महेश पोख्रेल । खड्काले प्रदेशभरिका गणको क्वार्टर मास्टर (क्यान्टिन),सिमानामा रहेका बिओपी तथा घुमुवा परिचालन गरी रकम असुल्ने गरेका छन् । डिआइजीसंगै ५ बर्ष देखि रहेका हिमाल खड्काले ३ बर्षअघि मात्रै काठ्माण्डौको गुर्जुधारामा भव्य घर ठड्याएका छन् । जबकि सशस्त्र प्रहरीले सादा पोशाकका घुमुवा नराख्ने नीति छ ।

पश्चिम बाँके बर्दिया क्षेत्र हेर्ने गरी हवल्दार गुलाम नवी अन्सारी,नवलपरासी र रुपन्देही हेर्ने गरी परासीमा हवल्दार लालबहादुर उचै ठकुरी खटिएका छन् । यसैगरी गुठी पर्सौनी बिओपी निरीक्षक उत्तम सिलवालले नवलपरासी र भुजहा,महेशपुर क्षेत्र र रुपन्देहीको कालीदह, सुनौली क्षेत्रबाट हुने तस्करीबाट रकम उठाएर डिआइजीका चालक हिमाल खड्कालाई बुझाउने गर्दछन् । सिलवालले गोपीगन्जका राँगा,खसी र माछा तस्कर जैनुल अन्सारी, जमुनियाको लिम्बे क्षेत्रीमार्फत रकम बटुल्ने गर्दछन्  । कपिलवस्तुमा भने खड्का आफैले हेर्ने गरेको सुनिन्छ । 

राँगा तस्कर नै एजेन्टः डिआइजी खत्रीका अर्का पात्र महेश पोख्रेल कपिलवस्तुकै नामुद तस्कर हुन् । उनले बहादुरगन्ज क्षेत्रमा भारतबाट राँगा ल्याएर नक्कली कागजात बनाई काठमाण्डौ पठाउने गर्दछन् । यति मात्र होइन बाँकेको रम्भापुर, रुपन्देहीको मोग्लाहा र नवलपरासीको गुठी पर्सोनी,भुजहा क्षेत्रबाट हुने राँगा तस्करीको सेटिङ ठेक्कासमेत पोख्रेल आफैले हेर्ने गर्दछन् ।

"स्वीकृत दरबन्दी संख्याको २० प्रतिशत सुरक्षाकर्मी विदा दिन सक्ने प्रावधान छ । तर डिआइजी खत्रीले फागुन १५ गतेसम्मको तथ्यांकमा त्यहाँ रहेका ३ सय २८ जनामध्ये १४५ जनालाई विदामा पठाएको बाहिनी श्रोतको दाबी छ । जुन ४० प्रतिशत बढी हो ।"

ती सबै क्षेत्रबाट रकम संकलन गरेर पोख्रेल आफैले डिआइजी खत्रीको बाहिनी निवासमै  बुझाउने गरेको श्रोतको दाबी छ । “पोख्रेल चन्द्रौटाको केबी पेट्रोल पम्पबाट सहज नेपाल संस्थाको पछाडिको गोप्य बाटो हुँदै सिधै बाहिनीपति निवासभित्र जान्छन्,त्यहाँ सिसी क्यामेरा छैन” श्रोतले भन्यो । पोख्रेलले राँगा मात्र होइन खाद्यान्न, कपडा,जुत्ताचप्पलको काम गर्ने तस्करहरुबाट रकम संकलन गरी डिआइजी खत्रीलाई बुझाउँछन् । घरायसी सामान र नेपाली खाद्यान्नलाई समेत दुखः दिन सादा पोशाकमा दिउँसै चन्द्रौटा चोकमा धरपकड गर्ने डिआइजी खत्रीले बहादुरगन्जमा दिउँसै हुने राँगा तस्करी बजारलाई भने पोख्रेलकै माया प्रेमले नदेखेझैं गर्दछन् । उनले आफू मात्र होइन,कृष्णनगर, भिल्मी बिओपीलाई समेत डिस्टर्ब नगर्न निर्देशन दिएको श्रोतको दाबी छ । 

राशनको लोभमा बाहिनी रित्तो: सशस्त्र प्रहरी व्यवस्थापन नियमावलीअनुसार एक पटकमा स्वीकृत दरबन्दी संख्याको २० प्रतिशत सुरक्षाकर्मी विदा दिन सक्ने प्रावधान छ । तर डिआइजी खत्रीले फागुन १५ गतेसम्मको तथ्यांकमा त्यहाँ रहेका ३ सय २८ जनामध्ये १४५ जनालाई विदामा पठाएको बाहिनी श्रोतको दाबी छ । जुन ४० प्रतिशत बढि हो । 

धरपकडको विरोध : अधिकार बाहिर गएर डिआइजी खत्रीले स्थानीय व्यापारीहरुलाई दुःख दिएको, अनावश्यक धरपकड गरेको भन्दै व्यापारीहरुले समेत विरोध जनाएका छन् । खरिद बील, भिसिटिएस,अनलाइन बिल हुँदासमेत जर्बजस्ती सामान उठाउने,रोक्ने र दुःख दिएको भन्दै व्यापारीहरुमा काम गर्ने वातावरण नरहेको कपिलवस्तु चेम्बर अफ कमर्शका अध्यक्ष महादेव पोख्रेल बताउँछन् । यो १५ दिनमा अलि बढि हस्तक्षेप भएको छ, व्यापारीहरुको गुनासो बढेको छ, मैले पनि डिआइजी साबलाई २ पटक फोन गरिसकेँ तर दुखः दिने काम रोकिएको छैन-उनले भने ।

टिप्पणीहरू