आरोप लाउनुको पनि हद हुन्छ नि नेताज्यू ! सम्पादकज्यू,

आरोप लाउनुको पनि हद हुन्छ नि नेताज्यू ! सम्पादकज्यू,
सुन्नुहोस्

दिया रोयल रेस्टुरेन्ट, १७४ बेड्फोर्ड रोड, केम्पस्टनको प्रोप्राइटर म निरनकुमार श्रेष्ठमाथि नेपालबाट ११ कामदारसँग जनही २७ लाखदेखि ३२ लाख रुपैयाँसम्म लिएर वर्क परमिटमा झिकाई श्रम शोषण गरिएको भन्ने समाचार निस्किएको रहेछ । यसरी आएका दुई कामदार नियमानुसार आफ्नो करार अवधि पुरा नगरी वीचैमा धोखा दिएर अरु नै कम्पनीमा धेरै पैसा (तलब) को प्रलोभनमा कम्पनीलाई दिनुपर्ने सूचना बेगर भागी गएका हुन् ।

उनीहरुलाई खोजतलाश गरी बेलायती कानुनअनुसार भीसासमेत रद्द गराउन सकिने ब्यवस्था रहेकोमा  मैले उनीहरुको भविष्य राम्रो होस् भनेर कुनै कानुनी कार्यवाही नगरेको हुँ। तर उल्टै श्रम शोषणको झुठो लान्छना लगाई प्रेम गाहामगर नेता भएको गैरआवासीय संघमा उजुरी गर्न पुगेका रहेछन् । बेलायतमै बसोबास गर्न र मलाई सोझो सम्पर्क गर्न सक्ने अवस्था हुँदाहुँदै आफै कानुन लागु गर्ने कार्यालय जसरी ७२ घण्टा समय दिएर लामो इमेल हिजो फेब्रुअरी २७ राति १० बजे आएको रहेछ। कार्य व्यस्तताले गर्दा आज बिहान मात्र हेर्ने मौका मिल्यो ।

तर हिजै नेपालको पत्रिकामा मेरो फोटोसहित खबर निकालिसकेको रहेछ।मलाई पत्राचार गर्ने प्रेम गाहा मगरलाई सम्पर्क गरी मैले आफ्नो भनाइहरु राखिसकेको छु । यसरी खवरमा लेखिएका पीडित भनिएका राम गौतम, विजय गुरुङ्ग,टुकलाल वाग्ले,प्रतिक्षा गुरुङ्ग, सुन्दर गलामी थापा मगर, सुरेश गिरी,सुलभ रानाभाट,सृष्टिका थापा हाल पनि यही कम्पनीमा काम गरिरहेका छन् र यो खबरमा आफ्नो नाम के कसरी आयो भन्नेबारे पत्राचार गर्ने कार्यालयमा बुझ्न जाने तयारी गरिरहेका छन् । 

मैले कामको लागि आवेदन दिनेहरुसंग कानुनी खर्चभन्दा बढी पैसा चाहिन्छ भनेर फोन सम्पर्क वा म्यासेज गरेको छैन । प्रमाण भनेर उल्लेख गरिएका  भौचरहरु,यहाँ लाग्ने कानुनी खर्च र निवेदन दस्तुरको लागि पटक पटक मेरो खातामा जम्मा भएको हो । यदि मैले गैरकानुनी तरिकाले त्यसरी बढी पैसा लिएको भए आफ्नो खाता नै प्रयोग गर्ने थिइन होला ।

यहाँ मासिक रुपमा सबैको तलब बैंकको खातामा नै जम्मा गर्ने गरेको छु । सम्झौताअनुसार बसोबासको लागि लाग्ने सम्पूर्ण खर्च भनेर कोठाअनुसार मासिक ५५० देखि ६०० पाउण्डसम्म लिने सहमति छ । त्यहीअनुसार सबैले नियमित रुपमा मेरो खातामा नै जम्मा गर्ने गरिएको हो । आय तथा व्ययको हिसाबमा मैले सबै उल्लेख गर्ने गरेको छु । यति धेरै प्रकारका कानुनहरु पालना गर्नु पर्ने देशमा ब्यवसाय गरिरहेको हुँदा यदि यो गैरकानुनी ढङ्गले लिएको भए कुनै पनि बेला सजायको भागी हुनपर्ने नै हुन्छ। तर एकतर्फी कुरा सुनेर सार्वजनिक बेइज्जत गरेको कारण आफू र आफ्नो परिवार अत्यन्त मर्माहत भएका छौँ । पत्रपत्रिकाले पनि यसबारे केही नबुझी प्रकाशन गर्नु पत्रकारिताको धर्म होजस्तो लाग्दैन । 

अहिले काम गरिरहेका व्यक्ति र परिवारका सदस्यहरुले पनि यो समाचारले आफ्नो भविष्य असुरक्षित भएको महसुस गरिरहेका छन् । परदेशमा आएर मेहनत गर्ने पारिवारिक ब्यवस्थापन गरिरहेकाहरुको बिनाअनुमति उजुरीकर्ताहरु भनेर अनर्गल प्रचार गरिनु कुनै पनि हालतमा सही हुन सक्दैन । समाजलाई सहयोग गर्ने नाममा झन् समाजमा बिग्रह फैलाउनु उचित हैन । त्यसैले यो एकतर्फी रुपमा लागेका आरोपहरुको खण्डन गर्दछु ।

-निरनकुमार श्रेष्ठ 

टिप्पणीहरू