गाली खाएपछि निशाले भनिन्, श्रीमानसँगको लेनदेन व्यक्तिगत कुरा हो !

गाली खाएपछि निशाले भनिन्, श्रीमानसँगको लेनदेन व्यक्तिगत कुरा हो !

सम्पति हात पार्नकै लागि शरद भेष्वाकरविरुद्ध अंश र माना चामल मुद्धा दर्ता गरेको भन्दै गाली खाइरहेकी अभिनेत्री निशा अधिकारीले मुख खोलेकी छन् । 

एक सातादेखि सामाजिक सञ्जालमा दर्शकहरुले नकारात्मक टिप्पणी गर्दै आए पनि उनी मौन थिइन् । तर, आज फेसबुकमा लामो स्टाटस लेख्दै निशाले श्रीमान (शरद)को सम्पतिमा आफ्नो कुनै गलत नियत नरहेको प्रतिक्रिया दिएकी छन् । छोरोको भविष्य सुरक्षित बनाउन कानूनअनुसार नै मुद्दाको प्रक्रियामा गएको उनको जिकिर छ । 

श्रीमान-श्रीमतीबीच जे-जति लेनदेन भएपनि त्यो व्यक्तिगत हुने तर्क गर्दै उनले आफूमाथि उठेका प्रश्न गलत भएको पनि उल्लेख गरेकी छन् । 'कानूनमा आमा र बुवा दुइवटैको सबै कुरा भाग लाग्ने व्यवस्था छ । मैले किन कनूनी उपचार लिनु पर्‍यो भन्ने कुरा व्यक्तिगत हो', निशाले फेसबुकमा लेखेकी छन् । 

आफ्नो र श्रीमानको सम्पति छोरोको नाममै हुने गरी सहमति भएको बताउँदै उनले भनेकी छन्, 'मेरो छोराको बुवा र मैले एक अर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रकृया अगाडि बढेको छ ।'

बिबाह गरेर छुटिंदा श्रीमानको सम्पतिको आधा भाग श्रीमती पाउनुपर्ने कुरा सामान्य रहेको र आफूहरु बीच भएको लेनदेनको घटनामा कसैले आपत्ती जनाउनु पर्ने अवस्था नरहेको निशाको तर्क छ । 'कानुन संशोधन भएर धेरै अगाडि आइसक्यो, कानुनी उपचार लिएर कुराहरु सुल्झाउने प्रविधिलाई नर्मलाइज्ड गरौ', उनले भनेकी छन् । 

निशाले ०७९ भदौ २८ गते काठमाडौँ जिल्ला अदालतमा शरदविरुद्ध अंश र माना चामल मुद्दा दायर गर्दै दुई तिहाइ सम्पति पाउनु पर्ने मागदावी गरेकी थिइन् । शरदले भरणपोषण खर्चवापत छोरा र आफूलाई जनही ५० हजार रुपैयाँको दरले मासिक एक लाख रुपैयाँ दिनुपर्ने पनि उनको माग थियो । 

तर, अदालतले निशाले एक तिहाई सम्पति मात्र पाउने र भरणपोषण खर्चवापत शरदले मासिक ४१ उपलब्ध गराउनुपर्ने फैसला सुनाएको छ ।

यो पनि..

१.एक लाख मागेकी अभिनेत्रीको हातमा ४१ हजार


 

टिप्पणीहरू