एक लाख मागेकी अभिनेत्रीको हातमा ४१ हजार

एक लाख मागेकी अभिनेत्रीको हातमा ४१ हजार
सुन्नुहोस्

अभिनेत्री निशा अधिकारीले उनका श्रीमान तथा क्रिकेटर शरद भेषावकरसँग माना चामल खर्च वापत मासिक ४१ हजार रुपैयाँ बुझ्दै आएकी छन् । २०७९ भदौ २८ गते काठमाडौँ जिल्ला अदालतमा शरदविरुद्ध अंश र माना चामल मुद्दा दायर गरेकी उनले शरदको दुई तिहाइ सम्पत्ति आफूले पाउनुपर्ने मागदावी गरेकी थिइन् । शरदको कुल सम्पत्तिलाई तीन भागमा बाँड्दा छोरो र आफ्नो भाग गरेर दुई तिहाइ आफ्नो हुनुपर्ने उनको भनाई छ । 

उनले भरणपोषण खर्च वापत छोरा र आफूलाई शरदले जनही ५० हजार रुपैयाँको दरले मासिक एक लाख रुपैयाँ दिनुपर्ने मागदावी मुद्दामा छ । तर गत मंसिर २८ गते जिल्ला अदालतले निशाले शरदको एक तिहाई सम्पति मात्र पाउने फैसला सुनायो । सोही आदेशबमोजिमको अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्ने फैसलामा उल्लेख छ ।

फैसलाबमोजिम नाबालिग छोराको भागमा पर्ने सम्पत्ति भने उमेर नपुगुञ्जेल निशा र शरदकै संरक्षणमा हुनेछ । त्यसो त, शरदले आफ्नोभन्दा निशाकै आम्दानी धेरै भएकाले माना चामल भराउनुपर्ने अवस्था नरहेको जिकीर लिएका थिए । 

अदालतले उनीहरुबीच अंशवण्डाको फैसला सुनाएपनि सम्बन्धविच्छेद भने भएको छैन । अंशबण्डापछि उनीहरु छुट्टाछुट्टै बसेपनि श्रीमान–श्रीमतीको नाता भने कायम रहिरहन्छ । 

माना चामलको मुद्दा र अदालतको फैसलालाई गुपचुप राख्न चाहेकी निशाको उक्त चाहना फैसला सार्वजनिकलगत्तै टुटेको छ । फैसला न्यायाधीश शिशिरराज ढकालको इजलासबाट भएको हो ।

टिप्पणीहरू