निर्माणमा तलमाथि गर्दा जेल

निर्माणमा तलमाथि गर्दा जेल

मुलुकको सबैभन्दा संस्थागत, अनुशासित र गौरवमय संस्था नेपाली सेनामा कार्यरत सैनिकमाथि कारबाही हुने क्रम बढेको छ ।

केही समयअघि एक जना विवाहित मेजर कारबाहीमा परे । शिक्षार्थीको रूपमा सैन्य तालिम केन्द्रमा आएकी कर्मचारीलाई पदीय प्रभावमा पारेर दुव्र्यवहार गर्ने मेजरको दुई वर्षसम्मका लागि बढुवा रोकिएको छ ।

निर्माण कार्य गर्दा करोडौं रुपैयाँँ तलमाथि गर्ने प्राविधिक हुद्दा नवराज गुरुङ्गलाई भने वि.सं २०८५ सालसम्म कैद सजाय तोकिएको छ । उनीविरुद्ध उजुरी परेपछि छानबिन गर्न गठित  समरी सैनिक अदालतले ६ वर्ष कैद र दुई करोड रुपैयाँँभन्दा बढी बिगो जरिवानाको फैसला सुनाएको थियो । २०७५ मंसिर १० गते भएको फैसलामा दुई करोड ३१ लाख ६८ हजार रुपैयाँँ जरिवाना हुने उल्लेख छ । 

साविक भरतपुर उपमहानगरपालिका–२९ बस्ने दलबहादुर गुरुङ्गका छोरा उनी इञ्जिनियर विभागमा कार्यरत थिए । अदालतका अध्यक्ष उपरथी शरदकुमार गिरीले ‘विविध कसूरसमेत गरेको’ मुद्दामा दोषी ठहर गरेका हुन् ।

उनलाई सैनिक ऐन, २०६३ को दफा ४२ को उपदफा (१) को खण्ड (ज), दफा ५२ को खण्ड (छ) र (झ), दफा ५५ को खण्ड (घ) र दफा ६३ को उपदफा (१) को खण्ड (घ) बमोजिम दोषी ठहर गरिएको जनाइएको छ । साथै, भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको छ । ०७५ कात्तिक १२ गतेदेखि थुनामा रहेका उनी बिगो बुझाउन सकेमा आगामी कात्तिक १२ गते रिहा हुनेछन् । ब्याच नम्बर २३१२४६ भएका गुरुङ्गले बिगो नतिरेमा थप अर्थात् २०८५ कात्तिक ११ गतेसम्म जेलमै रहनेछन् ।
 

टिप्पणीहरू