घुससहित समातिएका नापी सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित समातिएका नापी सर्वेक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगको टंगालबाट खटिएको टोलीले गत माघ ९ गते नापी सर्वेक्षक यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र बिचौलिया विनोद अधिकारीलाई साढे दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानका क्रममा उनीहरुले जग्गा कित्ताकाट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको र सो रकम भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल र लेखापढी व्यवसायी आशिषराज बस्नेतलाई समेत दिने गरेको पाइएको अख्तियारको दाबी छ । 

अख्तियारले दायर गरेको अभियोग पत्रमा पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम सजाय माग गरिएको छ ।

टिप्पणीहरू