अष्ट्रेलिया जान बल गर्ने ‘पुरेत’ र मनिषाबीच के हो त साइनो ?

अष्ट्रेलिया जान बल गर्ने ‘पुरेत’ र मनिषाबीच के हो त साइनो ?
सुन्नुहोस्

चर्चित अभिनेत्री मनिषा कोइरालासँगै अष्ट्रेलिया जान खोज्दा भीसा अस्वीकार गरिएका एक जना पुरेतबीच कुनै साइनो नरहेको बुझिएको छ । अष्ट्रेलियन अध्यागमन कार्यालयले फर्जी कागजात पेश गरेको भन्दै कोइरालासँगै त्यता जान तम्तयार नक्कली पुरेतलाई भीसा नदिएपछि उत्पन्न अवस्थाबारे जानकारी गराउँदै कार्यक्रम आयोजक र कलाकारहरुले भीसा अस्वीकार भएको भनिएका व्यक्तिसँग मनिषा र आफूहरुको कुनै सम्बन्ध नरहेको बताएका छन् । 

सिड्नीको स्थानीय बरउड पार्कमा मार्च २४ का दिन आयोजना गर्न लागिएको ‘लेट्स प्ले होली’ कार्यक्रममा मनिषा कोइरालासहित कलाकार दिनेश डिसीलगायत त्यता जान लागेका थिए । तर,सोही कार्यक्रममा पुरेतको रुपमा सहभागी गराउन आवेदन दिएका एक जनाको भीसा अस्वीकार भएपछि अनेक चर्चा भैरहेको छ । 

आयोजक संस्था लाहुरी टिभीले कार्यक्रममा सहभागी हुन मनिषा, दिनेश र चलचित्र निर्देशक सम्झना उप्रेती तीन जनालाई मात्र निम्तो दिइएको जनाएको छ । कार्यक्रममा नेपालबाट कुनैपनि पुरेत नबोलाइएको र होलीमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्न लागिएको टिभीको दावी छ । 

यता पुरेतलाई गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेडमा वर्तमान अध्यक्ष अनिल पोखरेलको हस्ताक्षरमा निम्तो गरिएको देखिन्छ । पत्रमा उनको आतेजाते हवाई टिकटसहित उता बस्ने,खानेलगायत सम्पूर्ण व्यवस्थापन एनआरएनले नै गर्ने उल्लेख छ । उक्त तथ्य खुलेपछि एनआरएन अष्ट्रेलियाले त्यहाँको अध्यागमन र प्रहरीमा उजुर हालेको छ ।

यसअघि तीजमा गर्न लागिएको कार्यक्रम विशेष कारणले रोकिएपछि होलीसम्मलाई सारिएको थियो । गत तीज अगावै कोइराला,डिसी र उप्रेतीसँग कार्यक्रममा सहभागी हुन १७ पृष्ठको सम्झौता गरिएको बताइन्छ । उक्त सम्झौता नवीकरण गरेपछि सोहीबमोजिम आफूहरु तीन जना होली कार्यक्रममा सहभागी हुन लागेको डिसीले बताए । उनले भने, ‘आयोजक संस्थाले कानुनी प्रक्रिया पूरा गरेको निम्तोमा हामी जान लागेका हौं । सम्झौतामा सबै विषय खुलाइएको छ । त्यसैले भीसा अस्वीकार भएका भनिएका मान्छेहरुसँग हाम्रो टोलीका सदस्यको कुनै सम्बन्ध छैन ।’ 

अष्ट्रेलियाको कानूनमा नक्कली कागजपत्र बनाउने, पेश गर्ने काम फौजदारी अपराध भएकाले सरकारवादी अभियोग लाग्ने उल्लेख छ । त्यस्तो अपराध प्रमाणित भएमा जेल सजाय र देश निकालासम्मको कारवाही हुन्छ । 

पछिल्लो समय नेपाली समुदायका नाममा खोलिएका विभिन्न संघ संस्थामा कलाकार, पत्रकार र मनोरञ्जनकर्ताको नाममा आफन्तलाई बोलाउने गरिएको छ । कतिपय अवस्थामा मोटो रकम लिएर नेपालीलाई अष्ट्रेलिया पुर्याउने गरिएको छ ।

 

टिप्पणीहरू